काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठक केही बेरमै बस्दैछ । पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा तल्लो तहसम्मको एकता प्रक्रिया टुंगो लगाउन प्रस्ताव तयार पारिने भएको छ।
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्ला तहका अध्यक्ष र सचिवको नामावलीसहित तयार पारेको प्रस्तावमाथि समेत छलफल हुने सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन्।
जिल्ला तहमा तत्कालिन एमालेबाट ५७ र माओवादी केन्द्रबाट ४३ प्रतिशतको भागबण्डा भएको छ। एकताको बेला तत्कालिन एमालेले अध्यक्ष पाएको जिल्लामा माओवादीबाट सचिव र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेबाट सचिव हुने भद्र सहमति भएको थियो।
अध्यक्षद्वयले तयार पारेको प्रस्तावलाई निश्चित विधि र प्रक्रियाका आधारमा सचिवालयले अन्तिम रुप दिने र स्थायी समितिबाट अनुमोदन गर्ने तयारी भएको श्रेष्ठले बताए। प्रचण्ड आजै पत्नी सीताको उपचार गर्न अमेरिका जाने भएपछि त्यसपूर्व तल्ला तहको एकता टुंग्याउन लागिएको हो।