काठमाडौँ। परराष्ट्र मन्त्रालय र मातहतका निकायबाट हुने पटक-पटकको त्रुटिले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रेषित हुने सन्देशमा गम्भीर प्रश्नचिह्न उब्जाएको छ। मन्त्रालयका अधिकारीहरूको पटकपटकको लापरबाहीले उनीहरूको कार्यसम्पादनमाथि पनि गम्भीर आशंका सिर्जना गरिदिएको छ।
पटकपटक गम्भीर प्रकृतिको लापरबाही गरी अन्तर्राष्ट्रिय स्तरमै बदनामी कमाउँदा पनि परराष्ट्रका कर्मचारीमाथि कुनै कारबाही हुन सकेको छैन। परराष्ट्रका जानकारहरूका अनुसार पटकपटक त्रुटि हुने सानो शब्दले अन्तर्राष्ट्रिय जगतमा त्यसको सन्देश भने नकारात्मक प्रवाह हुने गरेको छ।
गत ११ पुसमा राष्ट्रपतिबाट इन्डोनेसियामा सुनामीबाट ४३० जना भन्दा बढीको ज्यान जाने गरी भएको दुर्घटनाका विषयमा भएको त्रुटि र गम्भीर लापरबाहीले समवेदनाको ठाउँमा बधाईको सन्देश प्रेषित भएको थियो। मानवीयतामा प्रयोग हुने एउटा सानो शब्दले हलचल मच्चियो। जसका कारण सामाजिक सञ्जालमा मात्रै बहस भएन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यस विषयमा समीक्षासमेत भएको छ।
परराष्ट्र मन्त्रालयले आगामी दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमा पठाउने शुभकामना सन्देश र सूचनाका विषयमा गम्भीर भएर समीक्षा गर्ने जनाएको छ। सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट निकालेको विज्ञप्तिको विरोध भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर माफी माग्नुपर्यो। इन्डोनेसियाका राष्ट्रपति जोको बिडोडोलाई बधाई लेखिएको विज्ञप्ति सच्याउँदै परराष्ट्र मन्त्रालयले पुनः दुःख व्यक्त गर्दै इन्डिोनेसियाका नागरिकका नाममा समवेदना भनी उल्लेख गरेको थियो।
परराष्ट्र मन्त्रालयले असावधानीका कारण यसअघि निकालिएको विज्ञप्तिमा गम्भीर गल्ती हुन गएकोमा माफी माग्दै विज्ञप्ति सच्चाइएको थियो। त्यसमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायतका कर्मचारीले गम्भीर गल्ती गरे पनि सरकारले उनीहरूसँग स्पष्टीकरण सोध्न सकेको छैन। जसका कारण दण्डहीनता मौलाउँदै गएको र परराष्ट्रका अधिकारीहरू गल्तीमा पनि हौसने गरेको अधिकारीहरूले बताएका छन्।
किन र कसरी गल्ती भयो समीक्षा थालेका छौ। अव सजग भएर अघि बढ्न परराष्ट्रका कर्मचारीलाई निर्देशन गरेको छु । पटक–पटक हुने गल्तीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बेइज्जतसमेत भएको छ। सानो त्रुटिले अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भइरहेका बेला किन यस्तो खालको गल्ती भइरहन्छ त भन्ने विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस विषयमा गम्भीर भएर मन्त्रालयले समीक्षा गरेको बताए।
हामीले इन्डोनेसियाका विषयमा निकालेको विज्ञप्तिमा देखिएको गल्तीपछि एउटा प्रक्रिया बसालेका छौं,’ उनले भने, ‘पत्र लेखेपछि एकपटक गम्भीर भएर त्यसको अध्ययन गर्ने र गल्ती भएको ठाउँमा सच्याउने विषयमा समीक्षा गरेका छौं ।’ ‘कहिलेकाँही टाइप गर्दा गर्दै अटो करेक्ट भइदिन्छ त्यस कारण विगतमा गल्ती हुन गयो,’ उनले भने, ‘अब उक्त विषयमा थोरै अध्ययन गर्ने र सजग भएर अघि बढ्नेछौं।’
३० फागुनमा कार्यकाल सम्हालेको २४ दिनपछि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष ओहोदाको प्रमाणपत्र बुझाए। उक्त ओहोदाको प्रमाणपत्र बुझाउँदा निकालिएको विज्ञप्तिमा दिल्लीस्थित कर्मचारीहरूले अर्को गल्ती गरे।
ओहोदाको प्रमाणपत्र बुझाएको विषयमा दिल्लीबाट नेपाली दूतावासले गरेको जारी विज्ञप्तिको तेस्रो अनुच्छेदमा नेपालमा दुई राष्ट्रप्रमुख भएको उल्लेख गरिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति केपी शर्मा ओली दुई जना राष्ट्र प्रमुखको शासन रहेको उल्लेख हुनुले गम्भीर लापरबाही भएको पुष्टि गर्छ।
परराष्ट्र मन्त्रालयजस्तो संवेदनशील क्षेत्रबाट यस्तो गल्ती हुनुलाई स्वाभाविक मान्न नसकिने परराष्ट्रविद्हरूको तर्क छ। कूटनीतिक नियोगमा काम गर्ने कर्मचारीबाट भएको गल्तीपछि सजग बनाउने र स्पष्टीकरण सोधेर गल्ती सच्याउनेभन्दा पनि उक्त जिम्मेवारी पुनः सोही कर्मचारीलाई दिइँदा गल्ती दोहोरिने गरेको बताइएको छ। यो समाचार राजधानी दैनिकले छापेको छ।