काठमाडौँ। सरकारलाई साना १० विद्यार्थी सङ्गठनले राजनीतिक समस्यालाई राजनीतिक तवरबाट नै समाधान गर्न माग गरेका छन्।
अखिल (क्रान्तिकारी), अनेरास्ववियु (पाँचौँ), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल नेपाल विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरमलगायत १० विद्यार्थी सङ्गठनको आज बसेको बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमा रोक लगाउने विषयलाई राजनीतिकरुपमा नै समाधान गर्न माग गरेको क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले जानकारी दिए।
बैठकले प्रशासनिक तरिका नभई राजनीतिक तवरबाट समस्या समाधानको बाटो खोजी गरी गतिविधिमा लगाइएको प्रतिबन्ध फुकुवा गर्नसमेत माग गरेको उनले जानकारी गराए। बैठकले सरकार र नेकपालाई शान्तिपूर्ण तरिकाले वार्ता र संवादको वातावरण बनाएर समस्याको समाधान गर्नसमेत आग्रह गरेको छ। रासस