काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको परिचालन गर्नुपर्नेमा जोड दिएका छन्। युवा जागरण अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा उनले मुलुकको आर्थिक विकासमा युवा परिचालन आवश्यक रहेकाे बताएका हुन्।
आज (शनिबार) यहाँ आयाेजित ‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि नीति बहस’ कार्यक्रममा उनले राष्ट्र निर्माणका लागि युवा शक्तिलाई काममा लगाउनुपर्ने बताए। “स्रोत र साधन भएर मात्र मुलुकको विकास हुँदैन, नीति, आचरण र परिश्रम आवश्यक छ,” उनले भने।
नेता महतले कांग्रेसले शुरुदेखि नै समाजवाद उन्मुख अर्थव्यवस्था अगाडि सारेको बताउँदै सीपको विकास गरेर युवालाई रोजगारीमा लगाउनु अहिले मुलुकको आवश्यकता रहेको उल्लेख गरे।
पूर्वअर्थमन्त्री डा. महतले उदार अर्थव्यवस्थाका कारण मुलुक अहिलेको अवस्थामा आइपुगेको बताए। हरेक क्षेत्रमा निजीक्षेत्रको भूमिका बढ्नु मुलुकको आर्थिक विकासका लागि सकारात्मक रहेको उनको भनाइ छ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दुई तिहाइ जनमत पाएको सरकारले आर्थिक विकासको क्षेत्रमा ठोस काम गर्न नसकेको बताए। “अर्थ मन्त्रालयको नियन्त्रणमा नेपाल राष्ट्र बैंकलाई राखेर बैंक तथा वित्तीय संस्थालाई धराशयी बनाउन खोजिँदैछ,” उनले भने।
सुशील कोइराला नेतृत्वको सरकारले गरेको लगानी सम्मेलनलाई कार्यान्वयन गर्नतर्फ सरकार लाग्नुपर्नेमा नयाँ लगानी सम्मेलन गर्न सरकार लागेको उनको भनाइ थियो।
अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले मुलुकको विकासका लागि राजनीतिलाई आर्थिक क्षेत्रसँग जोड्नुपर्ने बताए। आर्थिक र सामाजिक हिसाबले संविधान उत्कृष्ट दस्तावेज भएको उनको भनाइ थियो।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले युवालाई जागरुक बनाए मात्र मुलुकको विकास सम्भव हुने बताए। उनले भने– मुलुकको विकासका लागि उद्योगमैत्री वातावरण निर्माण गर्नु जरुरी हुन्छ।
विसं २०७४ मा युवालाई जागरणको माध्यमबाट राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ स्थापना भएको अभियानलाई सबै प्रदेश, जिल्ला र स्थानीय तहमा लैजान लागिएको अभियानका संयोजक चिन्तन पौडेलले जानकारी दिए। अभियानले युवालाई जागरुक बनाई राष्ट्र निर्माणका लागि काम गर्ने संयोजक पौडेलले बताए। कार्यक्रममा अभियानद्वारा प्रकाशित पुस्तिका ‘जागृति’को विमोचनसमेत गरिएको थियो। (रासस)