काठमाडौँ। नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई संघका बारेमा जिम्मेवार बन्न सुझाव दिएका छन्। संघका निःवर्तमान केन्द्रीय सदस्य अर्जुन बमको नेतृत्वमा पौडेल निवास बोहराटार पुगेको विद्यार्थी नेता कार्यकर्ताको टोलीले नेपाली कांगे्रस र नेविसंघभित्र बहुमतको कदर नभएको स्पष्ट पारेका छन्।
नेता बमले भने,‘कांग्रेस विधिविधान भन्दा बाहिर जान थालेको छ। जब नेतृत्वले पार्टीको विद्यानलाई आफू अनुकुल ब्याख्या गर्न थाल्छन् त्यसपछि असन्तुष्टि मौलाउन पुग्छन्। हाम्रो माउ पार्टी कांग्रेस र नेविसंघमा यहि भएको हो।’
नेपाली पब्लिकसँगको कुराकानिमा नेता बमले भने,‘यसरी र्याली नै निकालेर पार्टी नेतृत्वलाई झकझक्याउनु रहरको विषय होइन, हाम्रो बाध्यता हो। उहाँहरुले आफ्नो जीवनमा पार्टीलाई के दिनु भयो ? के दिनु भएन ? कति पाउनु भयो ? कति पाउनु भएन ? त्यो इतिहासले बताउदै जाला ।’
उनले अघि थपे,‘तर वर्तमान समयमा उहाँहरुले जीवनको अन्तीम कालखण्डमा आएर पार्टी भन्दा माथि उठेर पार्टी चलाउदै हुनुहुन्छ। यसरी पार्टी चल्दैन भनेर हाम्रो पार्टीका वरिष्ट नेता रामचन्द्र पौडेलको घरमा पुगेका हौ।’
पार्टीको महासमिति बैठकले पारित गरेका निर्णयहरु केन्द्रीय समितिमा सभापति र वरिष्ठ नेता पौडेलले अस्वीरकार गरेको भन्दै नेता बमले महासमितिका निर्णयलाई कागजको खोस्टो सम्झने भूल गरेका बताएका छन्।
उनले भने,‘पछिल्लो समयमा नेपाली राजनीति सिद्धान्त भन्दा नेतामूखी बन्दै गएको छ। यो राम्रो होइन। जब निश्चित व्यक्तिको स्वार्थमा पार्टी पुग्छ त्यसपछि असली कार्यकर्ताहरुमाथि ठूलो अन्याय हुन थाल्छ।’
उनले भने,‘नेविसंघको नेतृत्व चयनका बारेमा पार्टी नेतृत्व निक्कै सुस्त छ। अहिले त चुप जस्तै छ। कांग्रेसको नर्सरीको रुपमा रहेको नेविसंघमाथि नेतृत्वबाट ठूलो खेलवाड भयो। पार्टी र संगठनको भन्दा व्यक्तिको भलाई र स्वार्थका आधारमा नेतृत्व चयन गर्ने कुरा मैदानमा रहेका असली कार्यकर्ताका लागि स्वीकार्य छैन्।’
नेवि संघका करिब दुई सयजना कार्यकर्ताले राजधानिको सिनामंगलदेखि शुरु गरेको मोटर साइकल र्याली, पुरानो बानेश्वर, मैतिदेवि, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, जमल, लैनाचौर, स्रोहखुट्टे, बालाजु हुँदै नेता पौडेल निवास बोहराटार पुगेको थियो।
संघका नेता कार्यकर्ताहरुले र्यालीमा सरकारका वर्तमान क्रियाकला जनहित विपरित रहेका भन्दै नाराबाजि समेत गरेका थिए।