धनगढी। सुदूरपश्चिम प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभा सदस्यले प्रदेशका समसामयिक समस्या समाधानमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन्। प्रदेशसभा भवन धनगढीमा बसेको बैठकको विशेष समयमा बोल्ने सदस्यले मन्त्रालयको काम कारवाही सन्तोषजनक नभएको भन्दै असन्तुष्टि जनाएका हुन्।
उनीहरुले विपद् एवं दैवी प्रकोपका घटनाबाट प्रभावितले राहत नपाएको, कैलालीको गोदावरीमा स्थायी राजधानी स्थापना गर्न भइरहेको काममा ढिलाइ गरिएको, कञ्चनपुरका दक्षिणी क्षेत्रमा केही हप्ता अघि भएको असिना पानीले पु¥याएको क्षतिबाट पीडित किसानलाई राहत दिन पहल नभएको र चालू आवको बजेट कार्यक्रममा घोषणा गरिएकोभन्दा बाहेकका योजना निर्वाचन क्षेत्रमा लगेर कार्यकर्ता पोस्ने काम गरिएकोजस्ता प्रश्न उठाएका हुन्।
कृष्णबहादुर चौधरीले टीकापुर घटनाको सवालमा रेशमलाल चौधरीलाई अदालतबाट सुनाइएको सजायप्रति असन्तुष्टि जनाइरहँदा सत्ता पक्षका सदस्य वीरमान चौधरीले नियमापत्ति गरेका थिए।
देवकी मल्लले विप्लव समूहबाट हालै आफूलाई बझाङ जिल्लामा केही समय अपहरण गरिएको जानकारी दिनुहुँदै उक्त घटनाप्रति आपत्ति जनाए। विशेष समयमा सत्ता पक्षका प्रमुख सचेतक तारालामा तामाङ, लिलाधर भट्ट, मनाकुमारी साउँद, प्रतिपक्ष नेपाली काङ्ग्रेसका कर्णबहादुर मल्ल र श्यामलाल रानाले पनि सुझाव राखेका थिए।
बैठकमा आर्थिक ममिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सुदूरपश्चिम प्रदेशको स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ टेबुल गरेका थिए।
यसैगरी बैठकमा प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्र्न बनेको विधेयक २०७५ र प्रदेशसभाको सचिव र सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सम्बन्धित समितिमा दफावार छलफल भई तयार भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रदेशसभाको अर्को बैठक चैत यही ५ गते दिउँसो १ बजे बस्ने छ। रासस