काठमाडौँ। नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय सुरक्षाको विषयमा सरकारले सबै दलसँग वार्ता गरेर निकास निकाल्नुपर्ने बताएका छन्।
नेपाल टेलिकम वर्कस युनियनको नवौँ क्षेत्रीय अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले देशलाई द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए।
उनले भने,‘राष्ट्रिय सुरक्षाका विषयमा सरकारले राष्ट्रिय दलको मान्यता प्राप्त दलसँग छलफल गर्नुपर्छ।’ दुई तिहाइको बहुमत भएकाले अरु दललाई सरकारले चासो नदिएको उनको भनाइ थियो।
नेता सिंहले सिके राउतसँग सरकारले गरेको समझदारी संविधान विपरीत भएको उल्लेख गरेका छन्। उनले नेपाल टेलिकमलाई अझ प्रभावकारी बनाउन कर्मचारी र व्यवस्थापन एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रहसमेत गरे । अधिवेशन दुई दिनसम्म चल्नेछ। रासस