काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३औँ अधिवेशनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएका छ। स्वदेश फर्किने क्रममा भण्डारीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री र परराष्ट्रमन्त्रीले स्वागत गरेका छन्। उक्त अवसरमा मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक अङ्गका प्रमुख, विशिष्ट श्रेणीका सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको पनि उपस्थिति थियो।
राष्ट्र सङ्घको प्रधान कार्यालयमा गत फागुन २७ देखि यही चैत ८ गतेसम्म आयोजना भइरहेको अधिवेशनका क्रममा राष्ट्रपति भण्डारीले फागुन २८ गते ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गरेकी थिइन्। राष्ट्रसङ्घ महासभाका सभाध्यक्ष मारिया फर्नान्डा इस्पिनोजा गार्सेसले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गत फागुन २६ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेकी थिइन्।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव शङ्करदास वैरागीले अधिवेशनका क्रममा आयोजना गरिएका तीन उच्चस्तरीय समूह छलफलमध्ये राष्ट्रपति भण्डारीले ‘महिला नेतृत्वले कसरी विश्व परिवर्तन गर्न सक्छन्’ भन्ने विषयमा सहभागी भई आफ्नो विचार राखेकी थिइन्। राष्ट्रपति भण्डारीले लैङ्गिक समानता तथा न्यायका लागि आफूले गरेका राजनीतिक सङ्घर्षका बारेमा उल्लेख गर्दै नेपालको विकट गाउँबाट पहिलो महिला राष्ट्रपतिसम्मको यात्राका क्रममा भोगेका सामाजिक, राजनीतिक तथा व्यावहारिक चुनौतीका बारेमा बताएकी थिइन्।
समूह छलफलका क्रममा राष्ट्रपति भण्डारीले राजनीतिमा महिलाको क्षमतालाई उपेक्षा गर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने र महिला सहभागिता सुनिश्चित गर्न स्पष्ट संवैधानिक र कानूनी प्रावधानको आवश्यकतामाथि जोड दिएको सचिव वैरागीले बताए। सो अवसरमा राष्ट्रपति भण्डारीले संवैधानिक, नीतिगत र कानूनी संरचनाका कारण छोटो समयमै महिला सहभागिता बढाउन सकिने नेपालको महत्वपूर्ण अनुभव सुनाएकी थिइन्।
राष्ट्रपति भण्डारीले न्यूयोर्कमा रहँदा राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरी राष्ट्रसङ्घीय सुधार, उच्च तहमा महिलाको समान सहभागिताको सुनिश्चितता तथा दिगो विकास र विश्व शान्तिका लागि भइरहेका पहलको सराहना गर्दै यसबाट राष्ट्रसङ्घीय प्रणालीको प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरेकी थिइन्।
राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा तथा राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी थिए।
