काठमाडौँ - नेकपा (माओवादी केन्द्र) ले हालै सरकारले विप्लव समूहविरुद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै तत्काल खारेज गर्नुपर्ने माग गरेको छ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोपाल किरातीले विप्लवका मागहरु राजनीतिक भएका कारण वार्ता तथा सहमतिबाट समाधान खोजिनुपर्ने बताए। विप्लव पनि वार्तामा आउनुपर्ने उनको भनाई थियो।
उनले सरकार सिके राउत र विप्लव समूहमध्ये एक पक्षसँग वार्ता तथा सहमति गर्ने र अर्को पक्षलाई दमन गर्ने रणनीतिमा रहेको उल्लेख गर्दै भने, ‘सिके राउतसँग सहमति भएकाले विप्लवविरुद्ध प्रतिबन्ध लगाईएको हो।’
उनले विप्लव नेतृत्वको नेकपाविरुद्ध ओली-प्रचण्ड सरकारको फासीवादी प्रतिबन्ध किमार्थ देश र जनताको हितमा हुन नसक्ने ठोकुवासमेत गरेका छन्। उनले अघि थपे, ‘त्यस प्रकारको प्रतिबन्ध खारेज गरी वार्ताद्वारा अग्रगामी समाधान खोज्न सरकारसमक्ष हाम्रो पार्टी आग्रह गर्दछ।’
फरक प्रसंगमा उनले रेशम चौधरीलाई आजीवन जन्मकैद गरेको निर्णयको बारेमा टिप्पणी गर्दै भने, ‘रेशम चौधरी उम्मेदवार हुने बेलामा वैधानिक हुने अनि उनले चुनाव जितेपछि सरकारले उनीविरुद्ध जुन प्रकारको रवैया देखाएको छ, त्यो न्यायोचित छैन।’
यस्तै, नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने निर्णय गरेको छ। गत फागुन १, २ र ३ गते काठमाडौँमा सम्पन्न महाधिवेशनका निर्णयहरु र त्यसलगतै फागुन २६ र २७ गते बुटवलमा बसेको केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्दै अध्यक्ष किरातीले ईण्डो-प्यासिफिक कमाण्डमा संलग्नता र सरकार-सिके राउत सहमतिको विखण्डनकारी प्रावधानसमेत तत्काल खारेज गर्न पनि महाधिवेशनले माग गरेको जानकारी दिए।
महाधिवेशनले समाजवादी राष्ट्रिय एकीकरण र वर्ग संर्घषमा महान जनविद्रोहको रणनीति लिएको पनि उनले स्पष्ट पारे।