घोराही – घोराही उपमहानगरको वस्तुस्थिति समेटिएको नगर प्रोफाइल बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नगर प्रोफाइल सार्वजनिक गरेका थिए।
मन्त्री पोखरेलले विकासलाई के, कसरी, कुन ठाउँमा गर्ने भन्नेबारे पनि वस्तुस्थितिको विवरणले प्रस्ट हुने भन्दै योजना छनोटमा नगर प्रोफाइलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
मुख्यमन्त्री पोखरेलले पछिल्लो समय दाङमा प्रशस्त सम्भावना भए पनि सिँचाइ र पिउने पानीको समस्या देखिएको भन्दै सानासाना टुक्रे योजनाभन्दा ठूला आयोजनाका बाटोतर्फ ध्यान दिनुपर्ने बताए। घोराहीका जनतालाई प्रशस्त पानी खुवाउन कटुवाखोलाको बाँध निर्माणको विषयमा अध्ययन गर्ने तयारीमा रहेको उनको भनाइ थियो।
मुख्यमन्त्री पोखरेलले आफ्नो क्षेत्रको विकासका लागि जनता र त्यहाँको जनप्रतिनिधिको उल्लेखनीय सहभागिता हुनुपर्ने बताए। ‘सरकारले चाहेर मात्रै हुँदैन, जनताको पनि सहभागी हुनुपर्छ,’ उनले भने, ‘सरकारले कुनै पनि ठाउँमा जबर्जस्ती लाठी लगाएर विकास गर्दैन, जनताको चाहना र सहयोग पनि हुनुपर्छ।’
उपमहानगरका प्रमुख नरुलाल चौधरीले वस्तुस्थिति १० खण्डमा बाँडिएर तयार पारिएको र उपमहानगरको परिवर्तित वस्तुस्थितिलाई समेटर बनाइएको जानकारी दिए। प्रोफाइल निर्माणका लागि करिब १ वर्ष लागेको बताइएको छ ।
२ सय ८८ पृष्ठको पुस्तकमा जनसङ्ख्या, घरपरिवारको अवस्था, परिवारको पेशागत विवरण, घर निर्माण प्रक्रिया, नगरबासीको आर्थिक अवस्था, आम्दानीको स्रोत, रोजगारीको स्थिति, उद्योग–व्यवसाय, कृषिको अवस्थालाई समेटिएको छ।
त्यस्तै कृषि सडकको अवस्था, पुलपुलेसा, सामाजिक क्षेत्रहरू, महिला बालबालिका, विद्यालय, सरसफाइको अवस्था, सामुदायिक वन, धार्मिक र निजी वनले पुर्याएको फाइदा लगायतका विषयलाई पुस्तकमा उल्लेख गरिएको छ।
उपमहानगरको विकासको सूचाङ्क, हरितक्रान्ति आत्मनिर्भरता, सहभागिता र समता, मानव विकास स्वास्थ र स्वच्छ घोराही उपमहानगरका बारेमा पनि प्रोफाइलमा समावेश गरिएको छ। एशिया फाउण्डेशन र कमिटेड नेपालको संयोजन एवं उपमहानगपालिकाको सहयोगमा पुस्तक तयार पारिएको उपमहानगरले जनाएको छ। (रासस)