काठमाडौँ – न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रमुख माइक बुशले २७ जनाको मृत्यु भइसकेको कैयौँ घाइते भएको बताएका छन्। एक जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन्।
प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन्।
सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ र सबै विद्यालयहरूको ढोकामा ताल्चा मारिएको छ।
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जेसिन्डा आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन्। उनले भनिन्, ‘अहिले मैले भन्न सक्ने भनेको आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ।’
अल नूर मस्जिदमा रहेका मोहन इब्राहिमले स्थानीन समाचारपत्रलाई भने, ‘पहिले त बिजुलीको झट्का होला भन्ठानेका थियौँ। तर त्यसपछि सबै मानिसहरू भाग्न थाले’। ‘मेरा केही साथीहरू अझै भित्रै छन्। मैले साथीहरूलाई फोन गर्ने प्रयास गरेँ।, तर धेरैसँग सम्पर्क भएको छैन। मलाई साथीहरूको पीर लागेको छ।’ उनले भने।
घटनामा कति आक्रमणकारी थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन। तर न्यूजिल्यान्ड हेराल्ड पत्रिकाका अनुसार एक बन्दुकधारी अस्ट्रेलियाका नागरिक हुन् जसले आप्रवासीहरूविरुद्ध लेखेका छन्।
आक्रमणकारीले भिडिओ खिच्दै मानिस मारेको भनि एउटा भिडिओ सार्वजनिक भएको छ। आक्रमण हुँदा बाङ्ग्लादेशी टोलीका सदस्यहरू अल नूर मस्जिदमा थिए। बाङ्ग्लादेशी क्रिकेट बोर्डले टोलीका सबै जना सुरक्षित रूपमा होटल फर्किसकेका र आफ्नो सम्पर्कमा रहेका जनाएको छ।
https://twitter.com/BCBtigers/status/1106400971481993216
सो घटनाप्रति सामाजिक सञ्जालमा धेरैले दुस्ख व्यक्त गरेका छन्। ‘मुस्लिम्ज इन न्यूजिल्यान्ड’ को फेसबुक पेजमा समवेदनाको ओइरो लागेको छ। (एजेन्सी)