काठमाडौँ। भारतका लागि नेपालका आवासीय राजदूत नीलाम्बर आचार्य र संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा. अर्जुनकुमार कार्कीलाई मन्त्रीसरहको मर्यादा दिएको छ। उल्लेखित दुई राजदूतलाई नेपाल सरकारको मन्त्रीसरह मर्यादा कायम गरिएको सञ्चारमन्त्री बाँस्कोटाले बताए।
उत्पादन र उत्पादकत्व वृद्धिका लागि सीप विकास, प्रविधि विकास, तालीम, नवप्रवर्तन तथा व्यवसायको विकासमा सहजीकरणका लागि उपयुक्त एकीकृत संरचना र कार्यप्रणालीको सम्बन्धमा नेपाल सरकारसमक्ष सिफारिशसहितको प्रतिवेदन पेश गर्न समिति गठन गरिएको छ।
तीन सदस्यीय समितिको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुनुहुन्छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र अर्थमन्त्री सदस्य रहनुभएको छ।
बैठकले ‘पाथीभारा क्षेत्र विकास समिति (गठन) पहिलो संशोधन आदेश, २०७५’ र ‘उद्योग, वाणिज्य प्रवद्र्धन संवाद परिषद् (गठन) आदेश, २०७५’ स्वीकृत गर्ने निर्णय गर्नाका साथै सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।
राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिडेटको महाप्रबन्धकमा अञ्जना ताम्राकारलाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ। सङ्घको पदमा समायोजन भएका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका सरकारी कर्मचारीलाई समान सेवा र श्रेणीमा पदस्थापन गर्ने निर्णय गरिएको सञ्चार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस