काठमाडौँ – राष्ट्रियसभाको आज (बिहीबार)को बैठकले ४ विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। ती विधेयकमा ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘भूउपयोग विधेयक २०७५’ छन्।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले भूउपयोग विधेयक प्रस्तुत गरेकी थिइन्।
विधेयकमाथिको छलफलमा ठगेन्द्रप्रकाश पुरी, राधेश्याम अधिकारी, रामनारायण बिँडारी, अनिता देवकोटा, दुर्गाप्रसाद उपाध्याय र बृन्दादेवी आलेले भाग लिँदै जमिनको प्रभावकारी वर्गीकरण आवश्यक रहेकाे औँल्याए।
मन्त्री अर्यालले कृषियोग्य जमिन बाँझो नछाड्न र भूउपयोगलाई व्यवस्थित गर्न विधेयक आएको बताइन्। उनले जमिनको परीक्षणका आधारमा उपयोगिता र वर्गीकरण गरिने स्पष्ट पारिन्।
बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक ‘सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ र राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) २०७५’ विधेयक पनि स्वीकृत गरेको छ।
प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय, संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक प्रस्तुत गरेका थिए।
यसैगरी बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. खतिवडाले सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक प्रस्तुत गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक चैत ४ गते अपराह्न १ बजे बस्नेछ।
एघारबूँदे सहमतिको स्वागत
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद भैरवचरणसुन्दर श्रेष्ठले सरकार र सीके राउतबीच भएको ११ बूँदे सहमतिको स्वागत गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन सबैमा आग्रह गरे। उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफ्ना गतिविधि सच्याउन पनि आग्रह गरे।
सांसद रामनारायण बिँडारीले उत्कृष्ट संविधान कार्यान्वयनमा आउँदा पनि के कारणले आज सडकमा पर्याप्त मात्रामा सार्वजनिक गाडी गुडेनन् भन्ने प्रश्न गर्दै आगो, शत्रु र रोगको समयमा नै उपचार खोजिनुपर्ने बताए।उनले मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट जिल्लामा पर्ने खण्डमा काम नै नभई भुक्तानी दिएको तर्फ सरकारको ध्यानाकर्षण गराए।
सांसद अनिता देवकोटाले विधिको शासन पालन गर्ने र गराउने गृह मन्त्रालयले नै विधिको शासनलाई उल्लङ्घन गरेको आरोप लगाए। सांसद खिमकुमार विकले ७ सय जना एमबीबीएस तहको अध्ययन गर्ने गण्डकी मेडिकल कलेज ४३ दिनदेखि बन्द रहेको बताउँदै छिटो कलेजमा पठनपाठन सञ्चालन गराउन माग गरे।
सांसद दुर्गाप्रसाद उपाध्यायले शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुने हुँदा आगामी बजेटमा यसमा लगानी बढाउन र तराई मधेसमा गर्मीयाममा हुने आगलागी नियन्त्रणमा समयमै ध्यान दिन आग्रह गरे।
सांसद रामप्रीत पासवानले स्वदेशभित्र नै रोजगारीका अवसर सिर्जना गर्न र सामाजिक सुरक्षामा ध्यान दिन आग्रह गरे।
शून्य सयममा सांसद शान्तिकुमारी अधिकारीले बागलुङ जिल्लामा जलशाययुुक्त जलस्रोतको आयोजना निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी थिइन्।
सांसद हरिचरण शिवाकोटीले सरकार र राउतबीच भएको सहमतिको स्वागत गरे। बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक ‘निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ र राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभाका पठाइएको ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) २०७५’ विधेयकलाई प्रतिनिधिसभाबाट पारित भएको जानकारी दिए। (रासस)