नयाँदिल्ली - भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल-भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको संयुक्त प्रतिवेदन भारतमा हुने लोकसभाको निर्वाचनपश्चात बुझ्ने बताएका छन्।
पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै गृहमन्त्री सिंहले भने, ‘अहिले हामी निर्वाचनमा केन्द्रित छौँ। निर्वाचनपछि मात्रै अन्य विषयमा लाग्छौँ। ईपिजी प्रतिवेदन लोकसभाको निर्वाचनपश्चात् नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्नेछन्।’ उनले नेपाल-भारत सम्बन्ध सुमधुर रहेको दावी गरे।
उनले भने, ‘दुई देशबीच सुमधुर सम्बन्ध हुनुपर्छ। सम्बन्ध गतिशिल बनाउनुपर्छ। भारत सँधै नेपालको हित चाहन्छ। आतंकवादको विरुद्धमा दुवै देशले सहकार्य गर्नुपर्छ।’
यस्तै, भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल-भारत सम्बन्ध अझै राम्रो बनाउनु पर्नेमा जोड दिए। राजदुत आचार्यले भने, ‘नेपाल-भारत द्धिपक्षीय सम्बन्ध अहिले पनि सुमधुर छ। राम्रो छ, तर यसलाई अझै राम्रो बनाउनुपर्छ। यसको लागि म लागिरहेको छु।’
आफू द्विपक्षीय सम्बन्ध सुमधुर बनाउन केन्द्रित भएको र यसको लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे। उनले यसअघि नेपालको राजनीतिमा भारतको चासो रहेको भए पनि अहिले कुनै चासो नरहेको आफूले पाएको पनि स्पष्ट पारे। उनले भने, नेपालमा जो प्रधानमन्त्री बने पनि भारतले सहयोग गर्छ। मिलेर काम गर्छ। नेपालको विकास र समृद्धिप्रति भारत सकारात्मक रहेको छ।’
भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं नेपाल-भारत प्रवुद्ध व्यक्ति समूहका भारत तर्फका निवर्तमान संयोजक भगतसिंह कोशियारीले पनि लोकसभाको निर्वाचन सम्पन्न भइसकेपछि दुवै देशका कार्यकारी प्रमुखले आफूहरुले तयार पारेको प्रतिवेदन बुझ्ने बताए।
उनले भने, ‘हामीले तयार पारेको यो संयुक्त प्रतिवेदन कोशेढुंगा सावित हुन्छ। कुनै असहमति छैन। प्रधानमन्त्री मोदीजीले समय अभावका कारण प्रतिवेदन बुझ्न नभ्याउनुभएको हो। अब निर्वाचनपछि बुझ्नुहुन्छ।’
उनले उक्त प्रतिवेदनले नेपाल-भारत द्विपक्षीय सम्बन्धमा देखा परेका अहिलेका र विगतका सबै समस्याको समाधान गर्ने पनि ठोकुवा गरे। उनले थपे, ‘यो प्रतिवेदन हामीले धेरै मेहनत गरेर बनाएका छौँ। प्रतिवेदनलाई लिएर भारतीय सरकारको कुनै असन्तुष्टि छैन।’