काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (विप्लव) माओवादीद्वारा आह्वान गरिएको नेपाल बन्दले उपत्यकामा खासै असर पार्न सकेन। कडा सुरक्षा व्यवस्थाका कारण पनि उपत्यकामा बन्दको प्रभाव मन्द रुपले परेको आँकलन गर्न सकिन्छ।
उपत्यकामा निर्वाध रुपमा गाडि चलिरहेका छन्। सरकारी कार्यालयहरु खुलिरहेका छन्। स्कुल कलजेहरु आंशिक रुपमा खुलेका छन्।
उपत्यका बाहिरका यि जिल्लामा बम आतंक
नवलपरासीमा ट्रकमा आगजनी
पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती दुई ट्रकमा आगजनी गरिएको छ। ८/१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका हुन्। काठमाडौबाट धनगढीका लागि बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ।
त्यस्तै पूर्वी नवलपरासीको राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएका छन्। शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाइएको थियो।
बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र व्याट्री रहेको सुरक्षा निकायले जनाएको छ। अरुणखोला बाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बाल्टीमा जुटको बोराले बेरेर माटो र तार राखेर बनाएको शंकास्पद बस्तु विहान ८ बजे हटाएको हो ।
मकवानपुरमा पनि ट्रक जलाइयो
थाहा नगरपालिका–४ नयागाउँमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए ।
पालुङ र दामनको जंगलबीच नयाँ गाउँमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४/५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको चालकलाई उदृत गर्दै मकवानपुर प्रहरीले जनाएको छ।
कैलालीमा विवाहको गाडीमा आगजनी
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीको बन्दको सुदूरपश्चिममा आंशिक प्रभाव परेको छ। सुदूरपश्चिमको राजधानी धनगढी बजारमा मोटरसाईकल, ईरिक्सा र चार पांग्रे सवारी साधन चलिरहेका छन् भने अधिकांस बजार बन्द रहेको छ।
बुधबार बेलुकी भजनीबाट आईरहेको विवाहको गाडीमा मसुरिया र राजीपुरकोबीच जंगलमा आगो लगाई दिएको छ। म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो। आज बिहान पहाडि जिल्लाबाट धनगढीतिर आईरहेका सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुटवलमा बम
नेपाल बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द ’विप्लव’ समूहले बुटवलको कालिकानगरमा राखेको बम डिष्पोज गरिएको छ। कालिकाचोकको डिभाइडरमाथि बम राखिएको थियो। बन्द सफल बनाउन राखिएको बम सक्कली नै भएपछि नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको हो। बम राखिएपछि सिद्धार्थराजमार्गमा चलिरहेका निजी यातायातका साधनसमेत रोकिएका छन्।
बन्दले रुपन्देहीको जनजीवन प्रभावित बनाएको छ। सार्वजनिक साधन चलेका छैनन्। विप्लवका कार्यकर्ता सडकमा नदेखिएपनि यातायात, पसल, उद्योग कलकारखाना, शैक्षिक संस्था बन्द भएका छन्। रुपन्देहीका स्थानीय तहले कक्षा ८ को वार्षिक परीक्षासमेत स्थगित गरेका छन्।
प्युठानमा बम
प्युठानको स्वर्गद्वारी नगरपालिकाको कार्यालय अगाडि बम भेटिएको छ। खतरा लेखेर कागज र प्लास्टिकले बेरेको अवस्थामा उक्त बम भेटिएको हो । बम भेटिएपछि त्यहाँ सुरक्षाकर्मीलाई बोलाइएको छ।
गोरखा बजारमा बम
गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा मा शक्तिशाली प्रेरकुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भोलाबहादुर रावलले दिएको जानकारी अनुसार बिहीबार बिहान १२ किलोमा फेला परेको बम सामान्य भएको भन्दै प्रहरीले जंगलमा फालिदिएको छ।
तर गोरखा बजार क्षेत्रमा फेला परेको बम मानव बस्तीमा भएको हुनाले नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेर निष्कृय पारेको हो। मुख्य सडकसँगै राखिएको उक्त बमका कारण वरपर रहेका वस्तीका सर्वसाधारण त्रसित भएका छन्।
हेटौँडामा शंकास्पद बस्तु
उत्तरी मकवानपुरको थाहा नगरपालिका ४ नयागाउँमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ। काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए।
पालुङ र दामनको जंगलबीच नयाँगाउँमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर आगजनी गरेको चालकलाई उदृत गर्दै मकवानपुर प्रहरीले जनाएको छ। ट्रकमा चालक, सहचालकसहित तीन जना सवार थिए। आगजनीबाट ट्रकको टेलरमा क्षति भएको एसपी सिंहले जानकारी दिए।
बाजुराका दुई ठाउँमा शंकास्पद बस्तु
बाजुरा जिल्लाको २ स्थानमा शंकास्पद वस्तु फेला परेको छ। साफे मार्तडी सडकखण्ड अन्तरगत बुढीगंगा नगरपालिका १० मा पर्ने डाब बजारमा र बल्देमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। नेकपा विप्लवले आज नेपाल बन्दको घोषणा गरेको छ।
बन्दमा त्रास देखाउनका लागि उक्त वस्तु सडकमा राखेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धप सिंह भाटले बताए। प्रहरी नायब उपरीक्षक भाटले भने,‘कपडामा बेरेको बम जस्तो देखिने सामान सडकको बीचमा राखेको भन्ने खबर छ। म आफैँ घटना स्थलमा जाँदै छु।’
विप्लव नेतृत्वको नेकपाले गरेको बन्दले बाजुरा जिल्लामा चल्ने साना तथा ठुला सवारी साधन आज बिहान देखि ठप्प भएका छन्। बन्दका कारण सुदूरपश्चिमका नौ वटै जिल्लाबाट बिहान छुट्ने यातायातका कुनैपनि साधन नछुटेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
रुकुम पूर्व, अदालत अगाडि बम
रुकुम पूर्वको जिल्ला अदालत अगाडि शंकास्पद वस्तु फेला परेको छ। अदालतको २०० मिटर अगाडि पोलिथिनमा पोको पारेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए। उक्त वस्तु बम भएको स्थानीयले आशंका गरेका छन्। तर यसको पुष्टि भइनसकेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए।
त्यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ दौलापैरामा पनि शंकास्पद वस्तु फेला परेको बताईएको छ । तर यस विषयमा भने कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । आज विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द गरेको र उसैले त्रास फैलाउनका लागि उक्तवस्तु राखेको हुनसक्ने आशंका छ। नेकपाले पनि यस विषयमा खुलेर प्रतिक्रिया दिएको छैन ।
उदयपुरमा बम
जिल्लाको कटारी नगरपालिका २ देवीधापस्थित सडकमा बम फेला परेको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज आव्हान गरेको नेपाल बन्दलाई प्रभाव पार्नेका लागि बम राखिएको हुन सक्ने आशंका गरिएको छ।
मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ चुनढुंगा सप्लाई गर्ने शिवम् मल्टिपर्स प्रा।लि।को गेट अगाडि शंकास्पद वस्तु राखिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
उक्त वस्तुडिस्पोजलका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए। सेनाको वेलसोत स्थित कालिसिद्धि इन्जिनियरिङ गणको टोली उक्त वस्तु भएको स्थानमा जाँदै गरेको छ।
नेकपा नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि देश नै तरङ्गित बनेको छ। तत्कालिन् जनयुद्धका सहयात्री रामबहादुर थापा ‘बादल’को प्रस्तावमा फागुन २८ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएपछि नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबारका लागि आह्वान गरेको नेपाल बन्दले यातायात सञ्चालन नहुँदा जन जीवन प्रभावित बनेको छ।
नेता–कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै नेपाल बन्दको आव्हान गरेको हो। सरकारले लगातार दमन गर्न थालेको भन्दै विप्लव समूहले गरेको बन्दले देशका अधिकांश जिल्लाहरुमा प्रभाव परेको छ।