काठमाडौं – सामाजिक सञ्जाल फेसबुकको सेवामा विश्वभर नै अवरोध देखा परेको छ। यो फेसबुकले अहिलसम्म बेहोरेको मध्येकै सबैभन्दा खराब समस्या हो।
नेपाली समय अनुसार बुधबार राति १० बजे आसपासबाट त्यस्तो समस्या देखिन थालेको बीबीसीले उल्लेख गरेको छ।
यस्तो छ कारण
फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममा अवरोध देखिएको छ। जसको कारण अहिलेसम्म केही सार्वजनिक गरिएको छैन। फेसबुक खुले पनि त्यसमा सामग्रीहरु प्रकाशित हुन सकेका छैनन्।
म्यासेन्जरको मोबाइल एपले कतै कतै काम गरेको छ। तर, फेसबुकको डेस्कटप संस्करणमा समस्या देखिएको छ। ह्वाट्सएपमा यसको असर देखिएको छैन।
‘फेसबुकका विभिन्न एपहरुमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ। हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ,’ फेसबुकले एक विज्ञप्तिमार्फत जनाएको छ।
अन्य सामाजिक सञ्जालहरुमा फैलिएको हल्ला गलत भएको प्रष्ट पार्दै डीडीओएस नामक एक किसिमको साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको जानकारी गराइएको छ।
अवरोध निगरानी गर्नेहरुका अनुसार फेसबुकमा समस्या विश्वभर नै देखिएको छ। योभन्दा पहिले फेसबुकले सन् २००८ मा यस्तो सेवा अवरोध बेहोरेको थियो। त्यतिबेला विश्वभर फेसबुकका प्रयोगकर्ता १५ करोड थिए। अहिले त्यो संख्या बढेर मासिक दुई अर्ब तीस करोड प्रयोगकर्ता पुगिसकेका छन्।