काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न निर्देशन दिएका छन्। नेपाल नगरपालिका संघको २६औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा ओलीले जनप्रतिनिधिको इमान डग्मगाए जनताको जनप्रतिनिधिमुलक संस्था माथिको विश्वास पनि डग्मगाउने बताएका छन्।
‘जनप्रतिनिधिमुलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ,’ ओलीले भने, ‘त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन्। यसमा सबैले सजग हुनुपर्दछ।’
ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभुल्न पनि जनप्रतिनिधिलाई सम्झाएका छन्। ‘अवसरहरु सक्षम र गरिबलाई दिनुहोस आफ्ना छोराछोरीलाई होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन मतदातालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो।’
प्रधानमन्त्री ओलीले नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भएको स्पष्ट पारेका छन्। ‘पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रस्तुत गरेर हिँड्नेहरुले अहिले यसको विरोध गरेका छन्,’ उनले भने।
ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरे। ‘लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान्, चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस्,’ उनले भने, ‘लुटेरा प्रवृतिले देशको विकास हुँदैन। यस्ता प्रवृतिलाई नेपाली समाजले स्वीकार्दैन।’
ओलीले स्थानीय तहका अधिकारका बिषयमा नगरपालिका संघ,गाउँपालिका महासंघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने बताए। कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिकाका असल अभ्यास नामको पुस्तक बिमोचन गरेका छन्।