काठमाडौँ - राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य अनिल झाले सरकारले विप्लव समूहलाई ट्याक्टफुल्ली ह्याण्डलिङ गर्न नसकेको आरोप लगाएका छन्। सरकारले विप्लवमाथि हिजोबाट लगाएको प्रतिबन्धबारे टिप्पणी गर्दै उनले भने, ‘यो कुरा त के हो भने जब कुनै पनि चिजलाई बढ्ता थिचिन्छ, त्यो झन माथितिर आउने स्थिति हुन्छ।’
बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै झाले यस्तो बताएका हुन्। सरकारले यसलाई ‘ट्याक्टफुल्ली–ह्याण्डलिङ’ गर्न सक्नुपर्थ्याे। २०५२ सालमा जब माओवादीले गएर तत्कालीन प्रधानमन्त्रीलाई एउटा ज्ञापनपत्र बुझायो, त्यसलाई कुनै पनि वास्ता गरिएन। हुँदै जाँदा यत्रो ठूलो जनयुद्ध भयो। देश नै अहिलेसम्म सोही जनयुद्धमा फसिरहेको अवस्था छ।’
उनले विगतको घटनाबाट पाठ सिकेर सरकारले विप्लवमाथि कारवाही वा प्रतिबन्ध लगाउनु भन्दा पनि वार्ता तथा सम्वादद्धारा समस्याको समाधान खोजिनु पर्थ्यो। उनले भने, ‘वार्ता तथा सम्वादमार्फत सेफल्याण्डिङ गरेको भए भए नै उचित हुन्थ्यो।’
सरकारले हतारमा ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगायो: देवेन्द्र पौडेल
त्यस्तै, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन्। उनले भने, ‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ।
म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म पार्टीको बैठकमा राख्छु। तर पनि म यतिमात्रै भन्न चाहन्छु कि यी समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्छ। कुनै पनि पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ जबरजस्त गर्ने, त्यसलाई कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्था सिर्जना गर्ने काम राज्य पक्षले गर्नुहुँदैन।’

उनले अहिलेको सिजन र अवस्था भनेको शान्तिपूर्ण तवरले खुल्ला प्रतिष्पर्धामा आउनको निम्ति संवैधानिक पद्धति र अधिकारलाई अधिकतम प्रयोग गर्नुपर्ने भएको बताए। उनले थपे, ‘सरकारले अधिकतमभन्दा अधिकतम लचिलो भएर सबै पक्षलाई वार्तामा ल्याउनुपर्छ, यति बेला सरकारको भूमिका हुनुपर्दथ्यो।’
नेता पौडेलले विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा राखे। उनले भने, ‘जनतामा जागरण ल्याउनुपर्छ भने पनि संविधान अनुसार नै गर्नुपर्छ। त्योभन्दा अरु तरिका अपनाइयो भने त्यसले स्वयं उहाँ र उहाँको पार्टीलाई राम्रो गर्दैन।’
उनले परिस्थितिलाई ठिक-ठिक ढंगले बुझ्नुपर्ने धारणा राखे। पौडेलले थपे, ‘यदि ठिक ढंगले परिस्थिति बुझ्न सकिएन भने यसले आँफैमाथि बज्रपात गर्न सक्छ। त्यसकाण उहाँलाई के भन्न चाहन्छौं भने आफ्ना कुराहरु खुल्ला प्रतिष्पर्धाको आधारमा र लोकतान्त्रिक विधिका आधारमा कुराहरुलाइ सशक्त रुपमा अगाडि बढाउनको निम्ति विशेष अनुरोध गर्न चाहन्छु।’
उनले राज्यले नियन्त्रण गर्नै नसक्ने घटनाहरु अहिले नघटेको पनि जिकिर गरे। ‘केही प्रकारका छिटपुट घटनाहरु घटेका छन्, यसबारेमा छानबिन गरेर अन्तिम अवसर दिँदा नै राज्यको लागि राम्रो हुन्छ,’ उनले भने।
अझै पनि प्रतिबन्ध लगायो भन्दैमा सरकारले वार्ताको ढोका बन्द नगरेको उनले जिकिर गरे। उनले भने, ‘विप्लव समूहलाई म विद्रोह समूह त भन्दिन, विप्लव समूहले संयमतापूर्वक आफ्ना कुराहरु राख्नुपर्छ।
त्यस्तै उनले वर्तमान सरकारले जनताको चाहनाअनुसार प्रभावकारी काम गर्न नसकेको गुनासो पोखे। उनले भने, ‘सरकारको कामलाई प्रभावकारी बनाउन आवश्यक छ। हामी यो विषयमा गम्भीर छौँ। जनताको गुनासो आउनु स्वभाविक हो।’
पौडेलले सकेसम्म अहिले भएकै मन्त्रीहरुबाट काम प्रभावकारी बनाउने प्रयास गरिने नभए मन्त्रिमण्डल पुनर्गठन गरेर भएपनि सरकारको काम प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।