काठमाडौँ – राष्ट्रपति अब्देलाजिज बौटेफ्लीकाको राजीनामाको माग गर्दै अल्जेरियामा जनताले प्रदर्शन गरेका छन्। लामो समयपछि हुन लागेको निर्वाचन फेरी स्थगित गरिएको भन्दै उनीहरुले राष्ट्रपतिको राजीनामाको माग गर्दै प्रदर्शन गरेका हुन्।
अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिजले आगामी अप्रिल १८ का लागि तय भएको निर्वाचन स्थगित गरेपछि आन्दोलन थप चर्किएको हो। निर्वाचन स्थगित गरिए पनि नयाँ निर्वाचन हुने मिति घोषणा भने गरिएको छैन्। राष्ट्रपति अब्देलाजिजले मन्त्रिपरिषद्बाट चाँडै निर्वाचनको नयाँ मिति तय गरिने बताएको अधिकारीहरुले जनाएका छन्।
उनको उम्मेदवारीलाई लिएर केही हप्तादेखि विरोध हुँदै आएकै बेला उनले फेरी निर्वाचन स्थगित गरेका हुन्। प्रदर्शनकारीहरुले आगामी निर्वाचनमा भाग नलिन पनि उनलाई आग्रह गर्दै आएका छन्।
विगत २० वर्षदेखि अल्जेरियाको नेतृत्व गर्दै आएका ८२ वर्षीय वृद्ध राष्ट्रपति अब्देलाजिज अहिले बिरामी पनि छन्। वृद्ध र बिरामी हुनुका साथै लामो समयदेखि शासन गरेकाले उनलाई पाँचौँ कार्यकालमा पनि जिम्मेवारीमा नआउन उनीहरुले माग गरेका छन् ।
अल्जेरियाको राजधानी अल्जियर्सलगायत देशका कयौँ शहरमा राष्ट्रपति अब्देलाजिजको व्यापक विरोध भइरहेको छ। उनको विरुद्धमा लाखौँ सङ्ख्यामा रहेका अल्जेरियाली नागरिकले सडक र्याली निकालेका छन्।
पाँचौँ पटक सरकार चलाउने अब्देलाजिजको घोषणासँगै देशमा विरोध प्रदर्शन शुरु भएको हो। उनले भने फेरी एकपटक आफूलाई चयन गरेमा चाँडै नै पद त्याग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तर अल्जेरियाली युवामा भने आर्थिक अवसरको कमीका कारण निरासा उत्कर्षमा पुगेको छ। उनीहरुले सक्रिय र स्वस्थ राष्ट्रपति चाहेको र देशलाई यही अवस्थामा रहिरहन नदिने बताउँदै आएका छन्। (एजेन्सी)