काठमाडौँ – ब्रिटिस प्रधानमन्त्री टरिजा मेले प्रस्ताव गरेको युरोपेली संघ इयुबाट ब्रिटेन बाहिरिने सम्झौता दोस्रो पटक अस्वीकृत भएको छ।
मार्च २९ मा ब्रिटेन युरोपेली संघ इयुबाट बाहिरिने मिति तोकिसकिएको बेला मंगलबार संसदको तल्लो सदनको ठूलो बहुमतले सो प्रस्ताव अस्वीकृत गरिदिएको हो। प्रधानमन्त्री मेका अनुसार सांसदहरूले अब बुधबार बिना कुनै सम्झौता इयु छाड्ने प्रस्तावबारे मतदान गर्नुपर्नेछ।
मेले के भनिन्?
मंगलबार साँझ संसदमा थकित र स्वर बसेको लवजमा बोल्दै प्रधानमन्त्री टरिजा मेले आफू निकै दुखित भएकाे बताइन्। तर उनको भनाइ थियो, ‘म अझै पनि के कुरामा विश्वस्त छु भने सबैभन्दा उपयुक्त नतिजा भनेको व्यवस्थित रूपबाट सम्झौतासहित इयु छाड्नु नै हुनेछ। र हामीहरूले तय गरेको सम्झौता नै हामीसँग उपलब्ध भएकोमध्ये सबैभन्दा उपयुक्तसमेत हो।’
मेले सांसदहरूलाई ढिलो गरी हुने बहिर्गमन चाहेको वा अर्को जनमत संग्रह चाहेकोमा निर्णय लिन भनेकी छन्। अथवा ‘सम्झौतासहित इयु छाड्न चाहेको तर यो सम्झौता नचाहेको’ भन्नेमा समेत स्पष्ट हुन भनेकी छन्।
ब्रिटेनसामु भएका ती विकल्प सहज नभएको बताएकी उनले आफ्नो प्रस्ताव अस्वीकृत भए पनि ती सामना गर्नुको विकल्पसमेत नहुने बताइन्। बिना कुनै सम्झौता इयु छाडिने अवस्थामा आयरल्याण्डसँगको सीमा व्यवस्थापन कसरी गरिने भन्ने योजना बुधबार सरकारले घोषणा गर्ने उनको भनाइ थियो।
अब के हुन्छ?
बुधबारको मतदानमा विना सम्झौता इयु छाड्ने प्रस्ताव स्वीकृत नभए बिहीबार ब्रेक्जिट प्रक्रिया नै ढिलो गर्ने विकल्पमाथि मतदान हुने बताइएको छ।
प्रमुख विपक्षी दल लेबरका नेता जेरेमी कर्बिनले प्रधानमन्त्रीको प्रस्ताव स्पष्ट रूपमा विफल भइसकेकोले अब आमचुनावको घोषणा हुनुपर्ने बताएका छन्। ब्रिटेनमा भएका पछिल्ला विकासक्रमलाई युरोपेली नेताहरूले चिन्तापूर्ण रूपमा हेरिरहेका छन्।
इयुका ब्रेक्जिटसम्बन्धी मुख्य वार्ताकार मिसेल बार्नियरले एक ट्वीट गर्दै इयुले समयमै बहिर्गमनसम्बन्धी सम्झौता गराइसक्न आफ्नो तर्फबाट भरमग्दुर प्रयास गरेको बताए। तर हाल जारी गतिरोधलाई केवल ब्रिटेनले नै समाधान गर्नु पर्ने उनले जनाए।
साथै कुनै सम्झौता बिना ब्रेक्जिट हुन सक्ने सम्भावनाका निम्ति अब इयुका तर्फबाट थप तयारी गर्नु महत्त्वपूर्ण भएको उनले बताए। (बीबीसी)