काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् माओवादी जनयुद्धका पूर्व कमाण्डार डा.बाबुराम भट्टराईले केपी ओली सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध थोपरेर इतिहास दोहोर्याउन खोजेको बताएका छन्।
पूर्व प्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले मार्क्सको भनाई उल्लेख गर्दै ओली सरकारले विप्लव नेकपालाई दमन गरेर सिध्याउने प्रतिवन्धको निर्णयलाई वियोगान्त र मजाकको रूपमा उल्लेख गरेका छन्।
सामाजिक संजाल फेसबुकमा डा. भट्टराईले, ‘नेकपा डबल सरकारले नेकपा विप्वल समूहलाई अपराधिक भन्दै औपचारिक रुपले प्रतिवन्ध गरेको छ र उसका विरुद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ। एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्बनापूर्ण घटनाको सम्झना गराउँछ’ भनि उल्लेख गरेका छन्।
यसैगरी एक सय वर्ष पहिले जर्मनीको तत्कालिन् सोसियल डेमोक्रेटिक पार्टी अफ जर्मनी भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले अर्को क्रान्तिकारी कम्युनिष्ट पार्टी अफ जर्मनीमाथि उनीहरुका नेताहरु रोजालग्जेवर्ग, कार्ललाइभ्नेख्तलगायतको निशंस हत्या गरेको डा. भट्टराईले स्मरण गरेका छन्।
त्यस्तै भारतको पश्चिम वंगाल प्रदेशमा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी सिपिएमको सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी सिपिआई एमएलमाथि भीषण दमन गरेर चारु मजुन्दारलगायतका नेताहरुको हत्या गरेको कुरालाई पनि डा.भट्टराईले ओली सरकारले विप्लवमाथिको प्रतिवन्धलाई तुलनात्मक रुपमा उल्लेख गरेका छन्।
नेपालमा पनि एउटा कम्युनिष्ट पार्टीको सरकारले अर्को कम्युनिष्ट पार्टीमाथि दमन गरेर त्यहि इतिहास दोहोर्याउन खोजेको हो ? डा. भट्टराईले प्रश्न गरेका छन्।