काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ का नेता नरबहादुर कार्कीले आफ्नो पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धका विरुद्धमा डटेर सामना गर्ने बताएका छन्।
नेपाली पब्लिकसँगको कुराकानिमा उनले भने, ‘सरकार आफ्नो विवेकमा चलेको छैन्। जनताको राजनीतिक अधिकार, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको पक्षमा उभिने राजनीतिक दलमाथि दमन गर्नेमा उत्रेको छ। यो नालायकी पन हो। सरकारी कदमका विरुद्धमा नेपाली जनता डटेर सामाना गर्छन। विखण्डनकारीसँग अंगालो हाल्ने र नेकपा जस्तो जनप्रिय पार्टीलाई प्रतिबन्ध लगाउनु हाँस्यास्पद कुरा हो।’
नेता कार्कीले भने, ‘हामीलाई सरकारले जवर्जस्ती युद्धमा धकेल्ने काम गरेको छ । जनताको राजनीतिक अधिकारमाथि प्रतिबन्धको अस्त्र प्रयोग गरेको छ। यसको प्रतिवाद आम नेपाली जनताले गर्नुपर्छ। नेकपा माओवादीले २०६३ साल अगाडि पनि जनयुद्ध लडेको हो, अब त्यहि ‘फर्मुला’अनुसार प्रतिरोध गरिने छ। यो आवश्यक पनि थियो। सरकारले जनताको अधिकारलाई साम्राज्वादी शैलीमा कब्जा गर्ने कोशिस गर्यो । यो निन्दनीय छ।’
सरकारले नेकपामाथि यसरी प्रतिबन्ध लगाउछ भन्ने कुनै आँकलन थियो ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने,‘सरकार पूर्ण रुपमा निषेधको बाटोमा छ। हाम्रो पार्टीले जनताका जनजीविका, महंगी, सार्वभौमिकताको रक्षा, राष्ट्रिय अखण्डता, भ्रष्टचारको अन्त्य, विदेशी हस्तक्षेपको अन्त्यजस्ता कुराहरुलाई राजनीतिक रुपमा सञ्चालन गरिरहेको बेला सरकारले प्रतिवन्धको निर्णय गरेको छ। यो सरकारको लागि दुर्भाग्य हो।’
सरकार विदेशी हस्तक्षेपका विरुद्धमा लड्नुको साटो नेकपामाथि प्रतिवन्ध लगाउनेमा पुग्नुले देशको अवस्थालाई चित्रित गरेको नेता कार्कीको भनाई छ।
उनले भने,‘सरकार विदेशी शक्तिहरुका एजेण्टसँग डराउछ। विदेशी शक्तिद्वारा परिचालित र विखण्डनकारीसँग सरकारले सहमति गर्छ। जसले खुल्ला रुपमा विखण्डनका नारा लगाउछ, त्यसलाई छुट दिने तर हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाउने तानाशाही व्यवहार गर्छ भने हामी पनि छोड्दैनौँ, को कति पानीमा छ, त्यो सबै हामीलाई थाह छ।’