काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सिके राउतसँग सरकारले गरेको सहमतिले देशलाई दुर्घटनामा फसाउने दाबी गरेका छन्।
मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बुटवल पुगेका थापाले मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सिके राउतलाई कारवाही गर्नुको साटो सहमति गरेर सरकारले विखण्डनलाई बढावा दिएको आरोप लगाए। देशको शान्ति सुरक्षाको अवस्था बलियो बनाउन सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।
अध्यक्ष थापाले नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने, धार्मिक स्वतन्त्रतासहितको सर्वधर्मसापेक्ष हिन्दू राष्ट्रको पुनःस्थापना तथा सबै शक्ति अटाउने संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रको स्थापनाको लागि मेची-महाकाली अभियानको थालनी गरिएको बताए।
फागुन १५ गते ताप्लेजुङ्गबाट शुरु भएको स्वाभिमान यात्रा पाँचथर, इलाम, झापा, मकवानपुर, चितवन, नवलपरासी, नेपालगञ्ज, कञ्चनपुरसम्म हुँदै बुटवल आइपुगेको छ।