रुपन्देही । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सिके राउतसँग गरेको सहमति अपरिपक्व निर्णय भएको टिप्पणी गरेका छन्।
नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले पृथकतावादी गतिविधि गरेको समूहलाई सहमतिमा ल्याउनु राम्रो भए पनि यसले अनेक आशङ्का पैदा गरेको बताए।
उनले भने, ‘सहमतिमा कालान्तरमा जनमत सङ्ग्रहको कुरा आएको छ, राष्ट्रको स्वाभिमान र अखण्डताका लागि जनमत सङ्ग्रह मान्य हुँदैन।’
नेता पौडेलले सहमति पछि विभिन्न कुरा आएकोले सरकारले छिटो शङ्काको निवारण गर्नुपर्ने बताए। उनले भने, ‘सिके राउतले जनमत सङ्ग्रहका लागि सरकार तयार रहेको भन्दै हिँडेका छन्, यो आपत्तिजनक छ।’