काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले महिलासम्बन्धी कानूनी र संवैधानिक परिवर्तन गर्दा तथा महिलाको अस्तित्वलाई स्वीकार गर्दा मुलुकमा निकै ठूलो परिवर्तन गर्न सकिने बताएकी छन्।
महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३औँ अधिवेशनका अवसरमा राष्ट्र सङ्घका महासभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले न्यूयोर्कस्थित महासभा कक्षमा आयोजना गरेको ‘शक्तिमा महिला’ मूल विषयअन्तर्गत उच्चस्तरीय एक सत्रमा भाग लिँदै राष्ट्रपति भण्डारीले महिलाप्रति विभेद समाजले बनाएकाले यो अप्राकृतिक भेदभाव भएको र अपरिवर्तनीय नभएको स्पष्ट पारेकी छन्।
‘महिला नेत्रीले कसरी विश्व परिवर्तन गर्छन्’ भन्ने विषयको उच्चस्तरीय गोलमेच छलफल सत्रमा उनले लैङ्गिक समानता जीवन जगत् र दार्शनिक रुपमा सहअस्तित्वको विषय भएको बताउँदै महिलालाई हेर्ने अन्धविश्वास र हेय दृष्टिकोणले समाजलाई पछाडि पार्ने उनको भनाइ छ।