काठमाडौँ । आफ्ना पूर्व सहयोद्धा नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर गृहमन्त्री रामबहादुर थापा बादल युरोपको भ्रममा निस्केका छन्।
मंगलबार अपरान्ह ४ बजेशुरु भएर साँझ ६ बजे सकिएको मन्त्रिपरिषद् बैठकमा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने प्रस्ताव गृहमन्त्री बादलले नै राखेको एक मन्त्रीले बताए।
ती मन्त्रीकाअनुसार गृहमन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद् बैठकबाट विप्लवका गतिविधिमाथि प्रतिबन्ध लागेको तीन घण्टापछि बादल युरोप तर्फ उडेका हुन्।
गृहमन्त्री बादल अष्ट्रियाको भियनामा हुन लागेको युनाइटेड नेशन्स अफिस अन ड्रग्स एन्ड क्राइमको २६औँ मन्त्रिस्तरीय बैठकमा भाग लिन त्यसतर्फ गएका उनको सचिवालयले जनाएको छ।
एनसेलको कार्यालय र टावरमा बम आक्रमणपछि विप्लवमाथि सरकारले कडा नीति अख्तियारको संकेत गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीका केही दिनयताका आक्रोशपूर्ण टिप्पणीले विप्लवमाथि सरकारले गतिलै कदम चाल्न लागेको प्रतीत हुन्थ्यो।
प्रधानमन्त्रीले सिके राउतसँगको सहमति कार्यक्रममा नेकपा नाम राखेर कम्युनिष्टकै बेइज्जत गरेको भन्दै विप्लवलाई लुटेरा समूहको संज्ञा दिएका थिए। सोमबार भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पनि प्रम ओलीले चन्दा आतंक मच्चाउने र लुटपाट गर्नेलाई निष्तेज पारिने बताएका थिए।
‘देशको शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधि सरकारलाई मान्य हुँदैनन्’, ओलीले सोमबार भनेका थिए, ‘कोही मृत संस्था जीवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन्। ती दुवै कुराहरुलाई निस्तेज पारिन्छ।’
‘देशको शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधि सरकारलाई मान्य हुँदैनन्’, ओलीले सोमबार भनेका थिए, ‘कोही मृत संस्था जीवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन्। ती दुवै कुराहरुलाई निस्तेज पारिन्छ।’
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहका गतिविधि अपराधीकरणतर्फ उद्यत रहेको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले दिएका छन्।
विप्लव समूहका क्रियाकलापहरूलाई देशभर प्रतिबन्ध लगाउने निर्णय भएको छु, मन्त्रिपरिषद्को निर्णयबारे मन्त्री राईले अन्नपूर्णसँग भने, उसका गतिविधि राजननीतिक भन्दा पनि अपराधिक भए। त्यसैलाई प्रतिबन्ध लगाउने भनिएको हो।
पछिल्ला दिनमा विप्लव नेतृत्वको पार्टीले राजधानीसहित देशभरका विभिन्न ठाउँमा बम विस्फोट तथा आगजनी गरेपछि सरकार क्रुद्ध बनेको थियो। प्रहरीले देशभर विप्लवका कार्यकर्तालाई पक्राउ समेत गरिरहेको छ।
सरकारले स्वतन्त्र मधेस माग गर्दै पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतसँग ११ बुँदे सहमति गरेको पाँच दिनपछि विप्लवमाथि प्रतिबन्ध लगाएको हो। सिके राउतका समर्थकले अहिले पनि एसियाको नयाँ देश मधेस भन्दै ठाउँ ठाउँमा प्रदर्शन गरिरहँदा सरकारी अधिकारी भने अन्तिम बिदाइ भन्दै प्रतिक्रिया दिइरहेका छन्।