काठमाडौँ। सरकारले नेपाल कम्युनिष्ट पार्टीका गतिविधि नियन्त्रण भन्दा बाहिर गएको भन्दै महासचिव विप्वल, प्रवक्ता प्रकाण्डलगायतका ठूला नेतालाई पक्राउ गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै नेकपाका नेताहरुलाई नियन्त्रण गर्ने निर्णय गरेको हो।
याे प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा केही दिनअघि नै गएकाे स्राेतले जनाएकाे छ। विप्लव समुहले आपराधिक कार्य गरी विकासका पूर्वाधारमा बम विस्फोट गराउने र शान्ति सुरक्षामथि आक्रमण गरेको भन्दै सरकारले प्रतिबन्ध लगाएको हाे ।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, ‘विप्लव नेतृत्वको पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य हो। सोहीअनुसार सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको हो।’
सरकारले आह्वान गर्दा पनि विप्लव समुह वार्तामा नआएको र विकासनिर्माणमा अवरोध पु¥याउनाका साथै विस्फोटन गराएकाले त्यसको गतिविधि नियन्त्रण गर्ने अवस्था आएको जनाइएको छ। उक्त समूहको गतिविधि आपराधिक भएको निष्कर्ष निकाल्दै उसको गतिविधि निषेध गर्ने निर्णय गरिएको बताइएको छ।