काठमाडौं – बहिर्गमित जनमुक्ति सेना नेपालले सीके राउतसँग गरेको ११ बुँदे सहमति फिर्ता नलिए प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध देशद्रोहीको मुद्दा लगाउन देशबासीलाई अपील गरेको छ।
बहिर्गमित जनमुक्ति सेना केन्द्रीय संघर्ष समितिका महासचिव राजन थापा सुवासले मंगलबार जारी गरेको विज्ञप्तिमा अहिले वार्ता र सहमतिको नाममा देश टुक्य्राउने नारा बोकेर हिँडेका सीके राउतलाई सहयोग पुर्याएको आरोप लगाएका छन्।
‘सीके राउतजस्ता बिखण्डनकारीलाई राजनीतिक मुलधारमा ल्याएर हाम्रो मातृभूमि नेपाल देशलाई सिक्किमीकरण गर्ने रणनीति बोकेर हिँडेका राष्ट्रघातीसँग मिलेर त्यस्ता खालका गतिविधि गर्ने शक्तिलाई राज्यले सहयोग पुर्याइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाल राष्ट्रकाविरुद्ध खुलेआम रुपमा गतिविधि भइरहेको टिप्पणी गर्दै उक्त संगठनले राष्ट्रिय हित विपरीत सीके राउतसँग सरकारले राष्ट्रघाती सम्झौता गरेको बताइएको छ।
अहिले सरकारले सुशासनको बाटोतिर भन्दा पनि कुशासनको बाटोतिर लम्किरहेको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘खबरदार केपी ओलि सरकार होसियार, देशको गरिमामय प्रधानमन्त्री जस्तो पदमा बसेर आफ्नो पदको किन दुरुपयोग गरेको?’
ओलीले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई लुटेरा भनेकोप्रति पनि बहिर्गमित जनमुक्ति सेना नेपालले आपत्ति जनाएको छ।
‘प्रधानमन्त्री ज्यू, तपाईंको नजरमा सीके राउत राष्ट्रवादी नै हो त? यदि तपाईंको नजरमा सीके राउत राष्ट्रवादी नै हो जस्तो लाग्छ भने, तपाईं त सिधै राष्ट्रघातीको रुपमा चिनिने पात्र बन्नु हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तपाईलाइ कसले दियो अधिकार राष्ट्रविरोधी निर्णय गर्न? सीके राउतसँग गरिएको ११ बुँदे सहमति भारतले ड्राफ्ट तयार गरेर पठाइदिएको हो?’