काठमाडौं – नेपालीबारे विवादित अभिव्यक्ति दिएकी दिल्लीकी सांसद अल्का लाम्बाले माफी मागेकी छन्।
आम आदमी पार्टीकी नेतृ तथा दिल्ली विधानसभा सदस्य लाम्बाले आज बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्ष गर्दै नेपाल र नेपाली नागरिकप्रति विवादित र आपत्तिजनक अभिव्यक्ति दिएकी थिइन्।
उनले ट्विटरमा लेखेकी थिइन्, ‘प्रिय, भारतवासी, यो पटक प्रधानमन्त्री नै चुन्नुहोला। चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ। नेपालका चौकीदार चोर हुँदैनन्।’
उनले आज बिहान गरेको ट्वीटको आलोचना भएपछि उनले हटाएकी हुन्। माफी माग्दै उनले भनेकी छन्, ‘मेरो एउटा ट्वीटबाट नेपालीहरुलाई दुःख लागेको थाहा भएको छ। म यसका लागि छिमेकी देश नेपालका नागरिकसँग माफी चाहन्छु। मेरो उद्धेश्य कसैको मन दुखाउनु थिएन। मैले तपाईंहरुको भावनाको कदर गर्दै ट्वीट हटाएकी छु। गड ब्लेस इन्डिया–नेपाल फ्रेन्डसिप ।’
https://twitter.com/LambaAlka/status/1105393566136844288
अल्का लाम्बा लामो समय भारतीय कांग्रेसको विभिन्न पदमा रहेर राजनीतिमा सक्रिय छन्। सन् २०१४ मा कांग्रेस परित्याग गरी आम आदमी पार्टीमा आवद्ध भएकी उनी सन् २०१५ मा भएको दिल्ली विधानसभा चुनावमा निर्वाचित भएकी थिइन्।