काठमाडौँ – सरकार र स्वतन्त्र मधेस गठबन्धनका अध्यक्ष सिके राउतबीच भएको ११ बुँदे सहमति खारेज गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।
नेपाल विद्यार्थी संघ शकरदेव क्याम्पस इकाई कमिटीले उक्त सम्झौता राष्ट्रविरोधी भएको भन्दै खारेज गर्न माग गरेको हो।
शकरदेव क्याम्पस इकाई कमिटिले सरकार र राउतबीच भएको सहमति विरुद्व नाराबाजी गर्दै बागबजार, पुतलीसडक, रत्नपार्क, लगायतका स्थानमा प्रदर्शन गरेका हुन्।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र गठबन्धनका संयोजक सिके राउतबीच गत शुक्रबार राजनीतिक विषयमा ११ बुँदे सहमति भएको थियो।
उक्त सहमतिमा राउतले नेतृत्व गरेको गठबन्धनले नेपालको संविधान मानी राजनीतिको मूल प्रवाहमा समाहित हुने र छुट्टै मधेस राज्य अभियानबाट अलग भई अखण्ड नेपाल स्वीकार गर्ने उल्लेख गरिएको छ। तर, सहमतिका केही बुँदा विवादास्पद भएको भन्दै सर्वत्र विरोध भइरहेको छ।
स्वतन्त्र मधेसको एजेन्डासहित पृथकतावादी गतिविधि गरिरहेका राउत बिहीबार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए भने अर्को दिन उक्त सहमति भएको थियो।
त्यसैगरी, रत्नराज्य क्याम्पसका विद्यार्थीले पनि सीके राउतसँग भएको सम्झौता राष्ट्रघाती भएको बताउँदै प्रदर्शन गरेका छन्।
साथै विद्यार्थीहरुले टायर बालेर सडक अवरुद्ध गरेका छन्। नेवि संघका नेता पुस्कर बास्तोलाले केपी ओली सरकारले निरन्तर राष्ट्रघाती काम गरिरहेको बताउँदै यो सम्झौता तत्काल खारेज गर्न मागसहित प्रदर्शन गरिएको बताएका छन्।
‘वामपन्थी सरकारको कार्यशैली र नियत ठिक देखिएन,’ नेता बास्तोलाले भने, ‘त्यसैले हिमाल, पहाड, तराई, मधेशसम्म नै आन्दोलन गर्नु र्न अवस्था आएको हो।’