काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले गतसाता सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतबीच भएको सहमति राष्ट्रको हित विपरीत रहेको बताएका छन्। साथै कोइरालाले नेपाली जनताले उक्त सम्झौतालाई नस्वीकार्ने दावी पनि गरेका छन्।
सरकार र राउतबीच भएको सहमति पश्चात नेपालको राजनीति तरंगित बनेको उल्लेख गर्दै कोइरालाले देशका विद्रोही समूहलाई संविधान र राज्यको मूलधारमा ल्याइनु उपयुक्त भएपनि सहमतिको एउटा बुँदाले राष्ट्रिय स्वाधीनता एवं अखण्डताविरोधी भावार्थ प्रस्तुत गरेको बताएका छन्। यसलाई नेपाली जनताले कुनै पनि हालतमा स्वीकार गर्नै नसक्दै उनले बताएका छन्।
नेता कोइरालाले सरकार र सीके राउतबीच भएको सहमतिमा दुवै पक्षको नियतमै खोट देखिएको टिप्पणी गरेका छन्। सहमतिको मसी सुक्न पाउँदै जनकपुरमा सीके राउत समूहले देखाएको दृश्यले आफूलाई गम्भीर बनाएको र झस्काएको कोइरालाले बताएका छन्।