काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मधेस भ्रमण कार्यक्रम सार्वजनिक गरेका छन्। सोमबार पूर्वराजा शाहका प्रेस संयोजक फणि पाठकले मधेस भ्रमणसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको जानकारी दिएका हुन्। उनका अनुसार पूर्वराजाको मधेस भ्रमण फागुन २९ देखि जनकपुरबाट शुरु हुनेछ।
भ्रमणका क्रममा शाह सर्लाही, उदयपूर र सप्तरी जिल्लासम्म पुग्नेछन्। पाठकका अनुसार २९ गते जनकपुरमा बास बसेर पूर्वराजा फागुन ३० गते सर्लाहीको मलङ्गवा जाने कार्यक्रम रहेको छ। त्यहाँ उनले दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ।
त्यहाँबाट उनी बास बस्न जनकपुर नै फर्किने छन्। यस्तै चैत १ गते उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको जनाइएको छ। जनकपुरबाट उनी चैत २ गते उदयपुरको गाइघाट जाने कार्यक्रम रहेको छ। गाइघाटमा राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको छ भने ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ।
यसअघि गत फागुन २२ गते हुने भनिएको उनको मधेस भ्रमण आमा रत्नको स्वास्थ्यमा समस्या आएपछि स्थगन भएको थियो। यो कार्यक्रमअनुसार पनि ज्ञानेन्द्रको जनकपुर केन्द्र बनाएर धनुषा, सर्लाही, उदयपुर र सप्तरीलगायतका जिल्लाहरुमा अवस्थित देवी देवताका मठ मन्दिर तथा शक्तिपीठको दर्शन गर्ने कार्यक्रम तय भएको थियो।
ज्ञानेन्द्र शाहको मधेश भ्रमण धार्मिक भनिएपनि उनले त्यहाँको जनमत समेत बुझ्ने बताइएको छ। अनपेक्षित रुपमा मधेसको राजनीतिक अवस्था परिवर्तन भइरहेको बेला त्यसप्रति उनले मधेशी जनताको धारणा बुझ्ने मनसाय राख्नुलाई महत्वका साथ हेरिएको छ ।पूर्वराजाले यसअघि पनि पटक पटक मधेसका विभिन्न जिल्लाको भ्रमण गर्दै आफ्ना समर्थकहरुसँग भेटघाट गर्दै आएका थिए ।