काठमाडौँ–मलेसियाका नयाँ राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले सोमबार पहिलो पटक संसदमा सम्वोधन गरेका छन्।
उनले सम्वोधनका क्रममा राष्ट्रिय एकताका लागि दलहरुलाई आह्वान गरेका छन्। गत जनवरीमा देशको १६औ राजाका रुपमा राज्यभिषेक गरेका अब्दुल्लाहले बहुसांस्कृतिक र बहुजातीय पक्षलाई विषेश महत्व दिन पनि आग्रह गरेका छन्।
सम्बोधनको क्रममा उनले भने, ‘बहुजातीय जनसंख्या भएको मुलुकमा सवै एकताबद्ध भयो भने त्यो निकै ठूलो शक्ति बन्न सक्छ।’ विषेश गरेर विश्व अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी नयाँ प्रविधि र नयाँ आर्थिक अवसरहरुलाई उपयोग गर्ने तर्फ लाग्न सरकारलाई सुझाव पनि उनले दिए।
‘मलाई विश्वास छ, नयाँ धनी व्यक्तिहरु तयार पार्नका लागि सरकारले नयाँ उद्यमीहरु, नयाँ लगानीकर्ताहरु र नयाँ अन्वेषकहरुलाई प्रोत्साहन गर्नेछ।’ उनले भने।
अहिले चलिरहेका साना तथा मझौला उद्यमलाई पनि नयाँ प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरमा हुनेगरी बिस्तार र विकास गर्नुपर्नेमा उनको जोड थियो। (एजेन्सी)