बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सिके राउतलाई समातेर जेलमा हाल्न सरकारलाई सुझाव दिएका छन्।
सरकारले गरेको ११ बुँदे सम्झौता विरोधाभासपूर्ण, अमूर्त र रहस्यमय रहेको भन्दै विखण्डनकारी गतिविधिलाई राउतले यथावत राखेकाले तत्काल कारबाही गर्न अध्यक्षथापाले माग गरेका छन्।
उनले भने, ‘सहमतिपछि पटकपटक दोहोर्याएर पढ्यौं, तर त्यहाँ विखण्डनको एजेण्डा छोडेको कतै देखिन्न, स्वतन्त्र मधेश गठवन्धन विघटन गरेको पनि देखिन्न, राउतको फेसबुक स्ट्याटस् र जनकपुरको प्रदर्शनले पनि सहमति रहस्मय रहेको पुष्टि गरेको छ।’
त्यस्तै थापाले विप्लव नेतृत्वको नेकपालाई सरकारले कम नसोच्न समेत सुझाव दिएका छन्। उनले भने, ‘विप्वलका गतिविधिलाई कम नसम्झौँ, बरु गम्भीरतापूर्वक लिन आग्रह गर्दछु।’