काठमाडौँ–नेपाली कांग्रेसका युवा नेता गगन थापाले विभिन्न क्षेत्रमा अध्ययन तथा अनुसन्धानका लागि इच्छुकलाई आवेदन दिन आग्रह गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद रहेका थापाले सामाजिक र राजनीतिक क्षेत्रमा कामका लागि प्रशिक्षार्थी (इन्टर्न) बन्न चाहनेलाई आवेदन दिन आग्रह गरेका छन्।
थापाका अनुसार प्रशिक्षार्थी बन्न चाहनेले सांसदको कार्यालयमा बसेर अध्ययन, अनुसन्धान र नीतिगत क्षेत्रमा काम गर्नुपर्ने छ।
त्यसका लागि दुई जना इञ्जिनियर, एक जना कानुन सम्बन्धी र बाँकी सामान्य गरि सात जना प्रशिक्षार्थी आवश्यक परेको थापाले जानकारी दिए। सांसद कार्यालयमा काम गर्ने प्रशिक्षार्थीले पारिश्रमिक पाउने छैनन् भने काम अवधिभर उनीहरूको अतिरिक्त खर्च भने कार्यालयले व्यहोर्ने छ।
पाँच वर्षअघि आवेदन खुलाएर नयाँ युवालाई काम गर्ने अवसर दिएका थापाले खोलेको सांसद कार्यालयमार्फत् विभिन्न क्षेत्रमा अध्ययन तथा अनुसन्धान हुँदै आएको छ।
सांसद कार्यालयमार्फत् यसअघि स्वास्थ्य, काठमाडौंको पूर्वाधार निर्माण, उद्यमशीलता लगायतका क्षेत्रमा काम भइरहेको छ।
हाल यस क्षेत्रमा चार जनाले मिलेर काम गरिरहेको र उनीहरूको काममा मद्दत पुर्याउन आवेदन मागिएको हो।