काठमाडौँ - उत्तर कोरियाका नेता किम-जङ अनका सौतिनी दाजु किम जङ-नामको हत्याको आरोप लागेकी एक इन्डोनेशियाली महिलालाई मलेशियामा रिहा गरिएको छ।
उनीविरुद्ध लागेका अभियोगहरू फिर्ता भएपछि सिती ऐस्याहलाई छोडिएको हो। उनलाई सन् २०१७ को फेब्रुअरीमा क्वालालम्पुर विमानस्थलमा किम जङ-नामको मुखमा भीएक्स नर्भ एजेन्ट भनिने विषालु पदार्थ दलिदिएको आरोप लागेको थियो। ऐस्याह र अर्की भियतनामी महिला द्वान ती ह्यूङले हत्याको अभियोग अस्वीकार गरेका थिए। आफूहरू एउटा टीभीका लागि गरिएको प्र्याङ्क अर्थात् उटुङ्गो काममा सहभागी भएको उनीहरूको दाबी थियो।
दुई वर्षअघि क्वालालम्पुरको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सो हत्याले धेरैलाई आश्चर्यचकित पारिदिएको थियो। धेरै महिनाको विलम्बपछि मुद्दामा प्रतिवादी पक्षको सुनुवाइ सुरु हुन लागेको थियो। सोमवार ह्यूङको बयान हुन लागेको थियो।
तर कुनै कारण नखुलाई सो मुद्दा हेरिरहेका अभियोजनकर्ताले सिती ऐस्याहलाई लगाइएका अभियोगहरू फिर्ता गर्ने अनुरोध गरे। भियतनामी महिलाको बयान पछि सारियो। इन्डोनेशियाका कानुनमन्त्रीलाई पठाइएको एउटा पत्रमा मलेशियाका महान्यायाधिवक्ताले दुई देशबीच रहेको सुमधुर सम्बन्धका कारण सो निर्णय लिइएको उल्लेख गरेका छन्।
समाचारसंस्था एएफपीका अनुसार न्यायाधीशले सरकारी अभियोजनकर्ताको अनुरोध स्वीकारे। तर अभियोग फिर्ता हुनु सफाइ दिइनु भने होइन। दोषी प्रमाणित भएको भए ऐस्याहले मृत्युदण्ड पनि पाउन सक्थिन्। अदालतबाहिर आएपछि उनले प्रसन्नता व्यक्त गरिन्। ‘म खुसी छु। यस्तो हुन्छ भन्ने मलाई थाहा थिएन। मैले अपेक्षा पनि गरेकी थिइनँ।’ एएफपीले उनलाई उद्धृत गरेको छ।
अदालत परिसरमा पुगेका बीबीसी संवाददाता जोनाथन हेडका अनुसार भियतनामी महिला ह्यूङविरुद्ध भन्दा ऐस्याहविरुद्ध थोरै प्रमाण भएको हुन सक्छ। अदालतमा सोमवार ह्यूङले आफ्नो लिखित बयान पढ्ने अपेक्षा गरिएको थियो। तर उनका वकिलहरूको अनुरोधमा बयान पछि सारिएको छ।
हत्या कसरी भयो?
फेब्रुअरी १३, २०१७ को दिन किम जङ-नाम मकाऊ जाने विमान कुरेर क्वालालम्पुर विमानस्थलमा बसेका थिए। विमानस्थलको प्रस्थान क्षेत्रमा दुई महिलाहरू उनी भएको ठाउँनजिकै गए।
सीसीटीभी दृष्यमा उनीहरूमध्ये एक जनाले किमको अनुहारमा हात राखिन् र दुवै जना तत्कालै त्यहाँबाट भागे। अस्पताल लैजादालैजादै किमको बाटैमा मृत्यु भयो। पछि उनलाई भीएक्स नर्भ एजेन्ट भनिने स्नायुप्रणालीमा असर र्पुयाउने शक्तिशाली विष प्रहार गरिएको पत्ता लाग्यो।
सास फेर्दा त्यो विषको एक थोपा मात्रै पनि शरीरभित्र पुगे ज्यान जान्छ। उत्तर कोरियाले सो घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्ने गरेको छ। तर किमको हत्या भएको दिन चार उत्तर कोरियालीहरू मलेशियाबाट भागेका थिए। उनीहरू चारै जनाविरुद्ध पनि मुद्दा चलाइएको छ। अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टर्पोलले रेड कर्नर नोटिस जारी गरेको भए पनि उनीहरूको अत्तोपत्तो लागेको छैन।
प्रतिरक्षामा के भन्छन् दुई महिला?
किमको हत्याको आरोपमा पक्राउ परेका दुवै महिलाले आफूहरू निर्दोष भएको र उत्तर कोरियाको षड्यन्त्रमा फसेको बताएका छन्।
उनीहरूका वकिलका अनुसार किमको हत्या हुनुभन्दा एक दिनअघि ऐस्याह र ह्यूङलाई विमानस्थल, होटल र शपिङ मलमा मानिसहरूलाई तरल पदार्थ दलिदिएर ‘प्र्याङ्क गर्न’ का लागि पैसा दिइएको थियो।
उनीहरूलाई यो टीभीका लागि बनाउन लागेको उटुङ्गो कार्यक्रम हो भन्ने नै लाग्यो। वकिलहरूले अदालतलाई उनीहरूले किमको हत्या गर्न खोजेको हैन भन्नेमा आफू विश्वस्त भएको बताए। एएफपीका अनुसार अदालतले सोमवार अनपेक्षित रूपमा ऐस्याहलाई रिहा गर्ने निर्णय सुनाएपछि मलेशियाका लागि इन्डोनेशियाली राजदूतले ती महिलालाई यथाशीघ्र स्वदेश फिर्ता पठाउने प्रयास गर्ने बताएका छन्।
किम जङ-नाम को हुन्?
किम जङ-नाम उत्तर कोरियाका नेता किम जङ-अनका सौतिनी दाजु थिए। पहिला किम जङ-नामलाई निरङ्कुश शासक किम जङ-इलको उत्तराधिकारीका रूपमा हेरिन्थ्यो। तर सन् २०११ मा बुवाको मृत्यु भएपछि किम जङ-अन देशका सर्वोच्च नेता बने। किम जङ-नाम परिवारबाट परित्यक्तजस्तै थिए।
उनी प्रायः मकाऊ, चीन र सिङ्गापुरमा बस्थे। उनले देशमा परिवारको शासनविरुद्ध असन्तुष्टि व्यक्त गरेका थिए। सन् २०१२ मा प्रकाशित एउटा पुस्तकमा उनले किम जङ-अनमा नेतृत्वका लागि आवश्यक गुण नभएको टिप्पणी गरेका थिए। (बीबीसी)