काठमाडौँ - इरानका राष्ट्रपति हसन रौहानी तीन दिने औपचारिक भ्रमणको क्रममा सोमबार इराकको राजधानी बग्दाद पुगेका छन्।
अमेरिकाले इराकलाई छिमेकीहरुको सम्बन्ध सीमित राख्न दबाब दिइरहेका अवस्थामा रौहानीको औपचारिक भ्रमण भएको छ। तेहरानबाट प्रस्थान गर्नुअघि रौहानीले इरान र इराकबीच विशेष सम्बन्ध रहेको बताएका थिए।
उनले इरान र इराकबीचको सम्बन्ध इराक र आक्रमणकारी मुलुक अमेरिकाबीच रहेजस्तो सम्बन्ध होइन भन्दै छिमेकी मुलुकहरुलाई जस्तोसुकै सहयोग गर्न इरान तयार रहेको प्रतिवद्धता जनाए।
इराकी र इरानी टेलिभिजनहरुले राष्ट्रपति रौहानीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ र सुमधुर हुने बताएका छन्। इराकीया टेलिभिजन च्यानलका अनुसार राष्ट्रपति रौहानीलाई बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा इराकका राष्ट्रपतिले स्वागत गरेका थिए। इराकमा रहँदा वरिष्ट इराकी अधिकारीहरु, अरु राजनीतिक नेताहरु तथा धार्मिक नेताहरुसँग भेटघाट गर्नेछन्।
इराकी राष्ट्रपति बरहाम सलिहको निमन्त्रणामा इरानी राष्ट्रपति रौहानी बगदाद भएका हुन्। उनीहरुबीच द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा छलफल हुने बताइएको छ। इरानी विदेश मन्त्री मोहम्मद जावद जारिफ पनि रौहानीको भ्रमणका बारेमा छलफल गर्न आइतबार नै बगदाद पुगेका थिए।
इरानी तेल उद्योग, बैंकिङ र यातायात क्षेत्रमाथि कडा अमेरिकी प्रतिबन्धहरु लागू भइरहेका बखत राष्ट्रपति रौहानीले इराकको भ्रमण गरेका थिए। इरान र इराकबीच विगतमा दशौं वर्षसम्म भिषण युद्ध भएको थियो। (एजेन्सी)