एजेन्सी - दक्षिण कोरिया र ब्रुनाईका नेताहरुबीच सोमबार ब्रुनाईको ऊर्जा उद्योगमा सहयोग विस्तार गर्ने तथा नयाँ प्रविधि क्षेत्रमा साझेदारी बढाउने सहमति भएको छ।
ब्रुनाईको राजधानीमा आयोजित द्विपक्षीय शिखर बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मून जाए-इन र ब्रुनाईका सुल्तान हसनाल बोल्कियाले विगत ३५ वर्षमा दुबै देशबीच पूर्वाधार र ऊर्जा क्षेत्रमा भएको मैत्रीपूर्ण सम्बन्ध अत्यन्त सकारात्मक रुपमा अघि बढेको मूनको राष्ट्रपतीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘हाम्रा दुई मुलुकबीच धेरै वटा क्षेत्रमा मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध विकास भएको छ। कूटनीतिक सम्बन्ध गाँसिएको ३५ वर्षका अवधिमा दुबै मुलुकबीच पूर्वाधार, ऊर्जा र जनस्तरको सम्बन्ध विकास भएको छ।’ राष्ट्रपति मूनले भने। राष्ट्रपति मून तीन दिने औपचारिक भ्रमणका सिलसिलामा आइतबार ब्रुनाई गएका थिए। विगत १९ वर्षमा पहिलो पटक राष्ट्रपति मून ब्रुनाई भ्रमणमा गएका हुन्।
सुल्तान बोलकियाले पनि दुबै मुलुकबीचको सहयोगात्मक सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरे। कोरिया र ब्रुनाई दुबै दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन (आसियान) का सदस्य राष्ट्र हुन्।
राष्ट्रपति मूनले यसै वर्षको अन्त्यतिर दक्षिण कोरिया-आसियान शिखर बैठक आयोजना गर्दैछन्। दक्षिण कोरियाले ब्रुनाईबाट वार्षिक करिब १० लाख टन एलएनजी (लिक्वीफाइड न्याचुरल ग्यास) आयात गर्दछ। यो कोरियाको कूल आयातको करिब ४.३ प्रतिशत हो।
दक्षिण कोरिया र आसियानबीचको द्विपक्षीय व्यापार गत वर्ष एक खर्ब ६० अर्ब डलर पुगेको थियो। कोरियाले व्यापारलाई सन् २०२० सम्ममा दुई खर्ब डलर पुर्याउने लक्ष्य लिएर नयाँ दक्षिणी नीति अघि सारेको छ।
त्यस अवसरमा, राष्ट्रपति मूनले आणविक अस्त्र रहीत शान्तिपूर्ण कोरियाली प्रायःद्वीप बनाउन ब्रुनाई सहित आसियान मुलुकहरुको सहयोगको अपेक्षा पनि गरेका थिए। (एजेन्सी)