काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन्।
राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं वार्षिकोत्सवलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले पृथकतावादी समूह सानो भएपनि त्यो विशाक्त हुने भएकाले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारेका छन्।
‘पृथकतावाद सानो भएपनि त्यो घातक हुन्छ। त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो,’ ओलीले भने, ‘राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन। यस विषयमा कसैले चिन्ता नगरे हुन्छ।’
प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताएका छन्। ‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानीबिनाको माछाजस्तो भुटभुटिएका छन्,’ ओलीले भने, ‘राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो।’
ओलीले विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने बताए। ‘देशको शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधि सरकारलाई मान्य हुँदैनन्,’ उनले भने, ‘कोही मृत संस्था जीवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन्। ती दुवै कुराहरुलाई निस्तेज पारिन्छ।’
देशको अखण्डता, सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा गरे।