पोखरा - नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कल गरेको भरमा कोही प्रचण्ड बन्न नसक्ने बताएका छन्। प्रेस सेन्टर कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
जनयुद्धको नक्कल गरेर नयाँ व्यवस्था ल्याउन नसकिने उनको भनाई छ। ‘मैले त वहाँलाई राम्रोसँग चिन्छु। मैले नै स्कुलिङ गरेको मान्छे हो। पार्टीको सचिवको रुपमा रहेर मसँगै काम पनि गरेको हो,’ नेत्रविक्रम चन्द विप्लवलाई सुझाव दिँदै उनले भने, ‘वहाँहरुले मैले अथवा पार्टीले ५२ सालमा गरेको कुरालाई नक्कल गर्न खोज्नुभएको छ। यो पार लाग्ने बाटो होईन। त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा व्यापक फेरबदल आईसकेको छ। अब राष्ट्रिय राजनीतिमा आउनुस्।’
प्रचण्डले गरेको जस्तै नक्कल गरेर ‘म पनि प्रचण्ड हुन्छु’ भनेर सोच्नु विल्कुल मनोगत हुने उनले सुनाए। उनले भने, ‘त्यो इतिहासले एउटा कालखण्डमा एउटा विचार र नेतृत्वलाई अगाडि ल्याउने गर्छ। साथीहरुलाई मेरो के भनाई छ भने त्यसो गर्न छोडेर अहिलेको अवसर उपयोग गर्नुहोस्।’ पछिल्लो समय जनयुद्धको बेला माओवादीले प्रयोग गर्ने बाटोबाट हतियार ल्याउने गरेको समाचार आएपछि प्रचण्डले त्यस्तो सुझाव दिएका हुन्।
गलत बाटोमा हिँडीरहे सरकार चुप लागेर नबस्नेसमेत उनले चेतावनी दिए। ‘सरकारले पृथकतावादतिर गएकालाई पनि वार्ताको माध्यमबाट समस्या समाधान गर्न पहल गरेको छ। विप्लव समूह पनि वार्ता र छलफलबाट मूल राजनीतिमा आउनुपर्छ,’ उनले भने, ‘नक्कल गरेर यही क्रियाकलाप दोहोर्याउने हो भने राज्य चुप लागेर बस्न सक्दैन। त्यो वहाँहरुको लागि र राज्यको लागि पनि राम्रो कुरा होइन।’
सरकारले सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावना अनुसार नै रहेको भन्दै त्यसमा शंका नगर्नसमेत उनले आग्रह गरे। बाहिर आएको होहल्लाजस्तो सम्झौता नभएको भन्दै उनले सम्झौता अनुसार नचले सरकारले एक्सन लिने उनले बताए। केही दिनभित्रै पार्टी एकीकरण पूरा हुने उनले सुनाए।