काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता एवम् पर्यटन मन्त्री स्व.रवीन्द्र अधिकारीकी श्रीमती विद्या अधिकारीले सामाजिक सञ्जालमा भाइरल बनेको कविता आफुले रचना नगरेको स्पष्ट पारेकी छन्।
यहि फागुन १५ गते ताप्लेजुङको सिस्नेखोला स्थित तारेभीरमा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएका स्व. अधिकारीको निधन भएको लगत्तै एक कविता भाइरल बनेको थियो। जुन कवितालाई स्व.अधिकारीकी श्रीमती विद्याको भनेर प्रचार गरिएको थियो। र आजका दिनसम्म पनि प्रचार गरिँदैछ।
हेलिकोप्टर दुर्घटना भएको केही घण्टाभित्रै सार्वजनिक गरिएको कविता र भिडियोप्रति विद्याले आपत्ति जनाएकी छन्। उनले भनेकी छन्, ‘अधिकारीकी श्रीमती ‘विद्या’ को मन रुवाउने कविता भनेर सामाजिक सञ्जालमा भाइरल बनेको रहेछ। त्यो भिडियो र आवाज मेरो होइन।’
उनले अघि थपिन्, ‘त्यति छिटो त्यो अवस्थामा म कसरी कविता लेखेर वाचन गर्न सक्छु ? धेरैले मैले नै हो भनेर सोच्नुभएको रहेछ। भेट्न आउनेले पनि सोध्नुभयो। मप्रति सहानुभूति राखेर पीडाको व्यापार जसले गर्नुभयो, त्यो राम्रो भएन। यसले मलाई झनै दुःखी बनाएको छ। यसले भ्रम छर्ने काम भएको छ। सत्य के हो ? त्यो पत्ता लगाउने प्रयास भैरहेको छ।’
भाइरल बनेको कविता यस्तो थियो
नियतिको कालो पर्दा बज्रो आफू माथि
कसोरी मन बुझाउँ अब मेरो प्रिय जीवन साथी ।
आकाश कालो, दिनै धुम्म आज फागुन पन्ध्र
बीच बाटोमै मलाई छोडी गयौ मेरो चन्द्र ।
हाय प्यारा, मेरा आँसु रोकिएनन् आज
के भनेर कसोरी यो मन बुझाउँ दिलको राजा ।
के गतिले कुन मतिले तिमी गयौ त्यहाँ
हाम्रो धर्ती उजाड भो फेरि आउन यहाँ ।
पूजा सार्दम ठीक पार्दे’र बिदा गरेँ आजै,
पाथीभरा प्रसाद पनि निधारमा छ ताजै ।
मन्त्री हुँदै हजार सपना देशवासीमा छर्यौ
वर्ष दिनमै नयाँ उभार दिन सफल पनि भयौ ।
तर, काम धेरै थिए गर्नु पर्ने बाँकी साज
मुलुक बनाउने तिम्रा पाइलमा कस्ले हाल्यो यो बाँध ।
समय नै काल बन्छ भन्ने कस्लाई हुन्छ शंका ।
मुटु मेरो चिरा पर्यो हेलिकप्टर खस्ता ।
विराज रुन्छ, स्वराज रुन्छ बाबा मेरो खोई भनी
हाँस्तै ग’का सातै जना फर्किएनन् कोही पनि ।
काम गर्दै जाँदा तिम्रो नाम मुछ्ने पनि भए
कालो दाग मेटाउँछु भन्थ्यौ प्रिये, ती अधुरै रहे ।
मुलुकको समृद्धिमा आज लाग्यो ठेस
कसरी म बाँधु अब मेरा लामो केश ।
चन्द्र पनि कालो भयो आशा सेलाइगयो
पोखराको बल्दो दीप कुन दैवले हर्यो ।
पाथीभरा छोड्नु अघि जुन फोन गर्यौ हरे
त्यही संवाद नै अन्ति हुन्छ कस्ले सोच्थ्यो कसले ?
बादल कालो मडारिएको गडबड थियो मौसम,
आधा जिन्दगीमै लुट्यौ दैव, मेरो प्यारो खसम ।
अवलोकन गर्न गाको विमानस्थल बनाउन
निजगढ विमानस्थल अब के होला कसले सक्ला मनाउन ?
गौतम बुद्ध विमान र त्रिवी विमान स्थलको
जिन्दगी नै बदलेथ्यौ समृद्धिको साँचो ।
ईन्द्र–लक्ष्मी कोखबाट जन्म्यौ २६ सालमा,
देशको सेवा गर्दा गर्दै बिदा लियौ अकालमा ।
योजनाका द्रष्टा थियौ रह्यौ सदाचारी
इतिहासमा सीमित रह्यौ मेरो राजा, रवीन्द्र अधिकारी ।
तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सपना अधुरै रह्यो तीन वर्षभित्र बनाइसक्ने गरी अन्तिम सर्वेका लागि फागुन १५ गते बुधबार चुहानडाँडा पुगेका मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि प्रधानमन्त्री केपी ओलीको जन्मगाउँमा विमानस्थल बनाउने उनको सपना अधुरै रहेको हो।
ताप्लेजुङ्गमा हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातको जनाको निधन भएको थियो।