काठमाडौँ। राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले संविधान संशोधनको माग पूरा गराउन सहकार्य गर्ने भएका छन् । सरकारले स्वतन्त्र मधेसको मुद्दा उठाइरहेका डा.सिके राउतसँग सहमति गरेपछि राजपा र फोरम एक भएर अघि बढ्ने मानसिकतामा देखिएका हुन् ।
सहकार्यका लागि राजपाले फोरमलाई औपचारिक आग्रह गर्ने तयारी गरेको छ। ‘फोरम र हामीले उठाएका धेरै मुद्दा मिल्छन्, सँगै हिँड्न हामी उहाँहरूलाई औपचारिक आग्रह गर्छौँ,’ राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले भने । राजपाले फोरमलाई सत्ता छाडेर आन्दोलनमा आउन पनि आग्रह गरेको छ । फोरम महासचिव रामसहाय यादवले पनि आफूहरू औपचारिक छलफल गरी सँगै अगाडि बढ्न तयार रहेको बताए ।
गत बुधबार राजपाले एक वर्षसम्म पनि आफूसँगको प्रतिबद्धता पूरा नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधान संशोधन, मधेसी आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता, सहिद घोषणा र मधेस घटनाको छानबिन गर्न गठित गिरीशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता सरकारले पूरा नगरेको आरोप लगाएको छ।
आइतबार संसद्मा बोल्दै संयोजक यादवले लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक नभए अर्को संसद् बैठक चल्न नदिने चेतावनी दिए । राजपाले संविधान संशोधनका लागि आन्दोलनमा होमिनका लागि राजपा जिल्लामा नेताहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
दुई मन्त्रालयसहित सरकारमा सहभागी फोरमले पनि संविधान संशोधन नभए पार्टी सत्ता महत्वपूर्ण नरहेको बताएको छ । २७ फागुन ०७४ मा केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्मा विश्वासको मत लिँदा यी दुवै दलले उनको पक्षमा मत दिएका थिए ।
आन्दोलनको बाटो खुल्योः महेन्द्र राय यादव, अध्यक्षमण्डलका संयोजक, राजपा
फोरमसँग संविधान संशोधनको मुद्दामा हामी एक छौँ । मधेसका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि हामी दुवै दलले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन दिएका थियौँ । फोरमले सरकारमा भएर पनि संविधान संशोधनका विषयमा ध्यानाकर्षण गराएकै छ । अब हामी संविधान संशोधनको मुद्दामा एक भएर अगाडि बढ्छौँ ।
हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आन्दोलन गर्ने बाटो खुल्यो । उहाँहरू पनि संविधान संशोधनका लागि सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा सँगसँगै अगाडि बढ्नका लागि बाटो खोल्नुप¥यो । वातावरण बनाउने जिम्मा उहाँहरूको हो । हामी औपचारिक रूपमा नै आन्दोलन गर्ने आग्रह गर्छौँ । चुनावी तालमेल गरेर प्रदेश २ मा सरकार बनाएपछि हाम्रो सम्बन्ध राम्रो छ । सँगै हिड्ने वातावरण बनाउन हामी लागिरहेका छौँ ।
संविधान संशोधन नभए सत्ता केही होइन: रामसहाय यादव, महासचिव, संघीय समाजवादी फोरम, नेपाल
संविधान संशोधनका लागि सरकारमा भएर पनि हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २१ मंसिरमा स्मरणपत्र बुझाएका थियौँ । प्रधानमन्त्रीले संशोधन गर्छु भनेकाले मात्रै बाटो हेरेका हौँ । मुलुक र जनताको आवश्यकताका आधारमा संविधान संशोधन गर्ने सहमति प्रमुख सत्तारुढ दल नेकपाले हामी र राजपासँग गरेको छ ।
संविधान संशोधनका लागि नै हामी सरकारमा गएका हौँ । संशोधनका लागि दुईतिहाइ आवश्यक पर्छ, तपाईंहरू समर्थन गर्नुस्, सरकारमा आउनुस् मिलेर जाऊँ भनेर मात्रै हामी सरकारमा गएका हौँ । हाम्रो मुख्य माग नै पूरा नहुने भएपछि सत्ता हाम्रा लागि केही पनि होइन । संविधान संशोधनका लागि त राजपा मात्र होइन, अन्य दलहरूसँग पनि सहकार्य गर्न हामी तयार छौँ । यो समाचार नयाँ पत्रिका दैनिकले छापेको छ।