काठमाडौँ। गत शुक्रबार फागुन २४ गते सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिमा भएको हस्ताक्षरको मसि सुक्न नपाउँदै मधेशमा विखण्डनको नारा झन जोडले गुन्जिन थालेको छ।
सरकारसँग मुलधारको राजनीतिमा आउने भन्दै सहमति गरेका राउतका कार्यकर्ताले जनकपुरमा स्वतन्त्र मधेशको नारा लगाएका हुन्। सरकारसँग गरिएको ११ बुँदे सहमतिलाई राउतले रणनीतिक रुपमा उपयोग गरेको यस कार्यले पुष्टि गरेको छ।
आइतबार काठमाडौँबाट जनकपुर विमानस्थल पुग्दा उनलाई स्वागत गर्न उपस्थित भएका कार्यकर्ताहरुले स्वतन्त्र मधेसको नारा लगाउँदा राउत हात हल्लाएर अभिवादन गरिरहेका थिए।
सरकारसँग गरेको सहमतिमा यसअघिका स्वतन्त्र मधेसको नारा छोड्ने, झण्डा, प्रचार सामाग्री, अनलाइन सामाग्री सबै प्रयोग नगर्ने, आइन्दा उत्पादन नगर्ने सहमति भएको थियो।
राउतको स्वातमा गएका कार्यकर्ताहरुले स्वतन्त्र मधेसको ब्यानर मात्र प्रयोग गरेनन् ‘मधेश देश लेके रहेंगे’ जस्ता नारावाजी पनि गरेका छन्। राउतले र्यालीमा स्वतन्त्र मधेसको झण्डा प्रयोग गर्नुका साथै ‘सुरक्षागार्ड’ पनि प्रदर्शन गरेका छन्। उनीहरुले बुलेट प्रुफजस्तो देखिने ज्याकेट लगाएका थिए भने कालो चश्मा र माक्स लगाएर अनुहार छोपेका थिए।
राउत विमानस्थलमा आइपुगनु अघि नै त्यहाँ पुगेका उनीहरुले बुलेट प्रुफ ज्याकेटसँगै मास्क लगाएका थिए। उनीहरुले टाउकोमा रातो कपडा र स्वतन्त्र मधेस गठबन्धनको झण्डा बाँधेका थिए।
उनीहरुले सिके राउतसँग प्रतिकृया लिन र फोटो खिच्न गएका पत्रकारहरुलाई समेत रोकेका थिए। यसअघि सीके राउत सहभागी सार्वजनिक कार्यक्रममा समेत नदेखिएका सुरक्षा गार्ड पहिलोपल्ट विमानस्थलमा देखिएका हुन्। विमानस्थलमा सीके राउतको सुरक्षा गर्न ८ जना सुरक्षा गार्ड खटिएका थिए।
‘फ्रि मधेश’ लेखिएको झण्डा बोकेर राउतको स्वागतका लागि विमानस्थलमा उपस्थित भएका राउतका कार्यकर्ताले ‘नेपाली उपनिवेश मुर्दावाद। मधेश देश लेके रहेंगे, स्वतन्त्र मधेश गठबन्धन जिन्दावाद। सीके राउत जिन्दावादलगायतका नारा लगाएका थिए।
सरकारले सीके राउतसँग राष्ट्रिय अखण्डता सुनिश्चित गर्दै सहमति भएको बताए पनि सीके राउतका कार्यकर्ताले स्वतन्त्र मधेशका पक्षमा झण्डा बोक्नेदेखि नाराबाजी गर्नेसम्मका गतिविधि गरिरहेका छन्।