एजेन्सी - भारतमा ११ अप्रिलदेखि आम चुनाव शुरु हुने भएको छ। भारतीय चुनाव आयोगले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको चुनावको तालिका अनुसार ११ अप्रिलबाट शुरु हुने मतदान मे १९ मा सकिने र मे २३ बाट मतगणना शुरु हुनेछ।
भारतको आम चुनावको मतदान सात चरणमा हुने पनि भारतीय चुनाव आयोगले जनाएको छ। पहिलो चरणमा ११ अप्रिल, दोस्रो चरणमा १८ अप्रिल, तेस्रो चरणमा २३ अप्रिल, चौथो चरणमा २८ अप्रिल, पाँचौं चरणमा ६ मे, छैटौं चरणमा १२ मे र सातौं चरणमा १९ मेमा मतदान हुने बताइएको छ।
१७औं लोकसभा गठनका लागि हुने चुनावमा ९० करोड मतदाताले मतदान गर्ने आयोगले जनाएको छ। जसमा ८ करोड ३४ लाख नयाँ मतदाता नयाँ हुन्।
१० लाख मतदान केन्द्र हुनेछ र हरेक मतदान केन्द्रमा भोटर भेरिफिकेसन पेपर अडिट ट्रोल भीभीप्याटको व्यवस्था हुने मुख्य चुनाव आयुक्त सुनिल अरोडाले पत्रकार सम्मेलनमा जानकारी दिए। निर्वाचनको मिति घोषणा भएसँगै आइतबारबाटै निर्वाचन आचारसंहिता लागू भएको आयोगले बताएको छ।
यो निर्वाचनपछि भारतमा फेरी पाँच बर्षका लागि नयाँ संसद र सरकार गठन हुनेछ। नयाँ सरकारका लागि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष राहुल गान्धीबीच प्रतिस्पर्धा हुने देखिएको छ।
उनीहरुको बाहेक देशभरी सय भन्दा बढी पार्टीहरु पनि प्रतिस्पर्धामा रहने अधिकारीहरुले बताएका छन्। यसअघि सन् २०१४ मा भएको निर्वाचनमा बहुमत प्राप्त गरी भारतीय जनता पार्टी (भाजपा) का नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।
हिन्दु राष्ट्रवादी मुद्दा, मोदीको व्यक्तिगत लोकप्रियता, आकर्षक चुनावी नारा, पाकिस्तानसँगको लडाई लगायतका कारणले मोदीले निर्वाचन आफ्नो पक्षमा पार्न सफल भएको बताउने गरिएको छ।
भारतको राजनीतिमा लामो समयदेखि प्रभावशाली परिवारको रुपमा रहेको गान्धी परिवारका नयाँ उत्तराधिकारी राहुलसँग बाल्यकालमा चिया बेचेका मोदीको प्रतिस्पर्धा रोचक हुने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्।