काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले नेपाल राष्ट्रको संविधान, भौगोलिक अखण्डता, सार्वभौम सत्तालाई स्वीकार गरेकाले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतसँग सम्झौता भएको बताएका छन्।
स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतसँग गरिएको सम्झौताका बारेमा संसदमा जवाफ दिँदै गृहमन्त्री थापाले मधेशी जनताको राजनीतिक, सांस्कृतिक अधिकारका सम्बन्धमा रहेको असन्तुष्टिलाई जनअभिमतबाट पूर्णता दिइने सहमति भएको प्रष्ट पारेका हुन्।
‘सहमतिको पहिलो बुँदाले नै नेपाल राष्ट्रको अखण्डताका विषयमा स्पष्ट पारेको छ, र राउतको गठबन्धनले मधेशको स्वराजको मुद्दा छोडेकाले नै सहमति भएको छ,’ गृहमन्त्री थापाले भने, ‘त्यसैले यसमा द्विविधामा पर्न आवश्यक छैन।’
थापाले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका गतिविधितर्फ लक्षित गर्दै मुलुकमा प्राप्त उपलब्धिहरुलाई अलोकतान्त्रिक रुपमा उल्ट्याउने कोसिस भइरहेको विषयप्रति सरकार गम्भीर रहेको बताए। ‘यस्ता गतिविधि रोकिन्छ,’ उनले भने।