सिन्धुली। नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ निटक जनपरिषद् नेपाल, सिन्धुलीले मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ। जनपरिषद् सिन्धुलीका गोपाल तामाङले एक विज्ञप्ती जारी गर्दै सबै क्षेत्रमा भएको मुल्य वृद्धि तत्काल फिर्ता नलिएमा जनकारबाही गरिने चेतावनि दिएका छन्।
तामाङले विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नामधारी सरकार गठन भएपछि देश र जनताको हित होला, दैनिक जीवनयापनको समस्या समाधान होला भन्ने आमनागरिकको आशा र अपेक्षामा समेत कुठाराघात भएको बताएका छन्।
उनले जनजीवन झनझन् कष्टकर र दुरुह बन्दै गएको बताउदै आगामी चैत १ गतेदेखि लागू हुने गरी सिन्धुली जिल्ला अस्पतालमा बिरामी उपचार सेवा शुल्कमा एक सय ५० प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णको बिरोध गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य नागरिकको मौलिक अधिकार भन्ने कुरा संविधान, देशको मूल कानुनमा उल्लेख भए पनि त्यसअनुप जनताले सेवा पाइरहेका छैनन्। संसदीय व्यवस्थामा कानुन, संविधान, विधिको शासन, समृद्धि, प्रतिबद्धता भन्ने कुरा हात्तीको देखाउने दाँत र चपाउने दाँत अर्कै हुन्छ भने जस्तो भएको छ।
राज्यले सम्पूर्ण व्यवस्था गर्नुपर्ने स्वास्थ्य क्षेत्रमा जनशक्ति आधा पनि उपलब्ध नहुनु तथा १५० प्रतिशतसम्म शुल्क वृद्धिको निर्णयमा सर्वदलीय सहमति भएको खबर हामीलाई खेदजनक र अस्वीकार्य छ। हामी त्यसप्रकारको निर्णयको भत्र्सना गर्दछौँ।’ विज्ञप्तीमा भनिएको छ।