कपिलवस्तु । साखः ग्रूपले कृषि र पर्यटन क्षेत्रमा लगानी विस्तार गर्ने भएको छ। निकासी हुने कृषि वस्तु र जडीबुटीलाई प्राथमिकता राखेर ग्रूपले लगानी थप्न लागेको हो।
कपिलवस्तु गोरुसिंगेस्थित २८ बिगाहा जग्गामा २० करोड लगानीमा ग्रूपले नेचुरल एग्रिकल्चर फार्म सञ्चालनमा ल्याउँदै छ। सोही स्थानमा कृषि पर्यटनका लागि ६ करोड पनि लगानी गर्ने भएको छ। एकै स्थानमा अग्र्यानिक कृषि उत्पादन र कृषि पर्यटन अगाडि बढाउने उक्त ग्रूपको योजना हो।
ग्रूपका उपाध्यक्ष किरणभक्त साखःका अनुसार पूर्वपश्चिम राजमार्गको गोरुसिंगे खण्डबाट चार किलोमिटर भित्रपट्टि कृषि फार्म खोल्न लागिएको हो। सोही स्थानमा कृषि पर्यटनलाई लक्षित गरेर स्वीमिङ पुलसहितको होटल तथा रेस्टुराँ खोलिने साखःले जानकारी दिए।
‘शुरूमा ३० ओटा कोठा भएको होटल सञ्चालन गर्छौं, जसलाई पछि विस्तार गर्दै लग्ने योजना छ,’ उनले भने। उनका अनुसार ४ महीनायता उक्त परियोजनामा निर्माण र ‘रेनोभेसन’को काम भइरहेको छ। ११ ओटा पोखरीमा मत्स्यपालन, १२० ओटा गाई, ६० बँदेल, ६०० सम्म बाख्रा र स्थानीय जातका १२ हजार कुखुरा पालन गर्ने तयारी भइरहेको छ।
‘यो क्षेत्रफलमा पहिले पनि कृषि तथा पशुपालनको काम भएको थियो, अहिले हामीले खरीद गरेर पशु र मत्स्यपालन गर्ने तयारीमा छौं,’ उनले भने । हालसम्म उत्पादनमूलक, व्यापार, ई-कमर्श र वित्तीय क्षेत्रमा ग्रूपको लगानी छ। उत्पादनमूलकमा साखः स्टील, नेपाल पेन्टस्, केमिड्रग, युनिसा पोलिकेम उद्योग सञ्चालनमा छन्।
ग्रूपले ट्रेडिङ अन्तर्गत साखः जेम्स्, अटोमोबाइल्स, इको-अटो, क्राफ्ट लगायतमा लगानी गरेको छ। यस्तै, ई-कमर्शमा हाम्रो बजार डट कम तथा वित्तीय क्षेत्रमा गुडविल फाइनान्स र भृकुटी बहुउद्देश्यीय सहकारी लिमिटेड सञ्चालन गर्दै आएको छ।
चारतारे होटल वैशाखदेखि
२०७६ वैशाख १२ देखि उक्त ग्रूपले काठमाडौं रविभवनमा ‘क्राउन इम्पेरियर होटल’ सञ्चालनमा ल्याउँदै छ। उक्त होटलमार्फत ग्रूपले पहिलोपटक हस्पिटालिटी क्षेत्रमा पनि लगानी थपेको हो। उक्त होटलमा साखः ग्रूप, गुडविल फाइनान्स लिमिटेड र अन्य केही व्यक्तिको संयुक्त लगानी छ। अहिले अनौपचारिक रूपमा होटल सञ्चालनमा आइसकेको छ।
१४० कोठा रहेको होटल चारतारे स्तरको हो। तत्काल होटलको ‘चेन ब्रान्ड’ शुरू गर्ने कम्पनीको योजना छैन। उक्त होटल चिनियाँ पर्यटकलाई लक्षित गरी खोलिएको छ। ‘भविष्यमा कुनै चिनियाँ चेन व्यवस्थापनसँग सहकार्य हुन सक्छ,’ ग्रूपका उपाध्यक्ष साखःले भने । यो समाचार अभियान दैनिकले छापेको छ।