काठमाडौँ । राजधानीको बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार राती गराइएको बम विस्फोटको जिम्मा नेकपा निकट ‘युवा सङ्गठन नेपाल’ले लिएको छ।
उक्त सङ्गठनका मध्यकमान्ड केन्द्रीय सचिव शीसिरले आइतबार एक विज्ञप्तीमार्फत उक्त घटनाको जिम्मा लिएका हुन्। विज्ञप्तीमा गुरुङलाई आगामी दिनमा मानवतस्करी जारी राखे थप कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।
बसुन्धरास्थित गुरुङको घरमा शुक्रबार साँझ बम विस्फोट गराइएको थियो। विस्फोटबाट गुरुङको गाडी र घरमा क्षति पुगेको थियो। व्यवसायी गुरुङले युवाहरुलाई विदेश पठाउने नाममा ठगी गरेको र विदेशमा समस्या परेर फर्कने युवालाई राहत दिनुको साटो तनाव दिने गरेको युवा सङ्गठनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।