काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी महिलासम्बन्धी राष्ट्रसंघीय बैठकमा सहभागी हुन न्युयोर्क जाँदैछिन्। महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३औं बैठकमा भाग लिन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्।
लैंगिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्राष्ट्रिय स्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ।
राष्ट्रपति भण्डारीले महिलाको नेतृत्वले कसरी विश्वलाई परिवर्तन गर्नसक्छ भन्ने विषयमा धारणा राख्नेछिन्। उनले साइडलानमा संयुक्त राष्ट्रसंघका महासविच गुटेरसलगायत अन्य सहभागीसँग भेटघाट गर्ने कार्यक्रम छ।
राष्ट्रपति भण्डारीसँग परराष्ट्र सचिव शंकरदास बैरागी र अन्य अधिकारी त्यसतर्फ गएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा भने शनिबार नै त्यसतर्फ प्रस्थान गरिन्। राष्ट्रपतिको टोली शुक्रबार फर्कने कार्यक्रम छ।