रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र देशको एकीकृत अस्तित्व अस्वीकर प्रवृत्तिको अन्त्य गर्न वर्तमान सरकार सफल भएको जिकिर गरेका छन्।
उनले विखण्डनकारी प्रवृत्तिलाई शान्तिपूर्ण माध्यमबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुरुपको सबै व्यवस्था स्वीकार गराउन सफल भएको बताए।
महासचिव पौडेलले तत्कालीन नेकपा एमालेका कुशल सङ्गठक जीवराज आश्रितको स्मृतिमा बुटवलमा स्थापित जीवराज आश्रित प्रतिष्ठानद्वारा स्थापना गरिएको सङ्ग्राहालयको शनिबार बुटवलमा उद्घाटनमा सरकारले देशलाई समृद्धिको बाटोमा अघि बढ्न सक्षम बनाउँदै लगेको बताए। उनले शान्ति, विकास र सुशासनका सन्दर्भमा कसैसँग नझुक्ने स्पष्ट पारे।
उनले कृषि क्षेत्रको आधुनिकीकरण, औद्योगिकीकरण र बजारीकरणमा वर्तमान सरकारले प्रमुख प्राथमिताका साथ योजना अगाडि बढाएको बताए।
महासचिव पौडेलले रुपन्देहीमा सञ्चालित ठूला साना आयोजनाका काम गुणस्तरी र समयमा सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। जीवराज आश्रित प्रतिष्ठानका संस्थापक अध्यक्ष पूर्वसांसद देवेन्द्र घिमिरेले प्रतिष्ठानको अवस्था र आगामी कार्ययोजना बारेमा जानकारी गर्राए। रासस